२६ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको संवैधानिक कदमविरुद्ध आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षले माघ २८ गते बुधबार काठमाडौंमा गर्ने बृहत प्रदर्शनको तयारी तीव्र पारेको छ ।
नेकपा केन्द्रीय संघर्ष समितिका अनुसार २८ गते काठमाडौंका मुख्य ५ स्थानबाट जुलुस निकाल्ने तयारी भएको छ । यसअघि सो समूहले पुस १४ र माघ ९ मा काठमाडौंमा आमसभा गरेको थियो । त्यसैगरी, ओली समूहको आमसभाको अघिल्लो दिन माघ २२ गते देशव्यापी आम हड्ताल नै गरेको दाहाल–नेपाल समूहले २८ गतेको शक्ति प्रदर्शनलाई हालसम्मकै ठूलो बनाउने गरी तयारी गरेको छ ।
सो दिन उपत्यकाका विभिन्न ५ ठाउँबाट जुलुस निकाल्ने तयारी भइरहेको दाहाल नेपाल समूहले जानकारी दिएको छ । सो दिनको जुलुसको नेतृत्वका लागि विभिन्न नेताहरुलाई खटाइएको छ । जसअनुसार ललितपुरको पुल्चोकबाट सुरु हुने जुलुसको नेतृत्व कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्तलगायतले गर्नेछन् । सो जुलुस कुपण्डोल–थापाथली–त्रिपुरेश्वर हुँदै सुन्धारासम्म पुग्नेछ ।
त्रिपुरेश्वरबाट निस्कने जुलुसमा अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, चक्रपाणि खनाल, जनार्दन शर्मा, मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, वर्षमान पुन, सुरेन्द्र पाण्डे, विष्णु पुकार श्रेष्ठले नेतृत्व गर्नेछन् । यस्तै, अमृत बोहोरा, गणेश शाह, गिरिराजमणि पोखरेल, भीम आचार्य, मात्रिका यादव र हरिबोल गजुरेलले माइतीघर हुँदै थापाथली त्रिपुरेश्वरतर्फ अघि बढ्ने जुलुसको नेतृत्व नेतृत्व गर्नेछन् ।
त्यसैगरी, देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, भीम रावल, शक्तिबहादुर बस्नेतले केशरमहल–दरबारमार्ग–तीनधारा पाठशाला हुँदै जमल, असन, इन्द्रचोक र न्युरोड हुँदै अघि बढ्ने जुलुसको अगुवाइ गर्नेछन् । असन–इन्द्रचोकबाट लीलामणि पोखरेल र केन्द्रीय कमिटी सदस्यहरु तथा पेसागत संगठन हेर्ने केन्द्रीय सदस्यहरुले नेतृत्व गर्ने छन् ।
सबै जुलुसलाई १२ बजे मूल जुलुस सुरु हुने स्थान सुन्धारामा पुग्ने र त्यहाँबाट वीर अस्पताल–जमल–घण्टाघर–बागबजार–पुतलीसडक–पदमोदय मोड–प्रदर्शनी मार्ग हुँदै सभास्थल प्रवेश गर्ने नेकपाको संघर्ष समितिले जानकारी दिएको छ ।