२६ माघ, काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री शशाक कोईरालाले नेपाली काँग्रेसले आन्दोलन गर्दा कसैसँग मिल्नु नहुने बताएका छन् । सोमबार पूर्वप्रधानमन्त्री सुशील कोइरालाको छैठौँ स्मृति दिवसको अवसरमा सुशील कोइराला सोसलिष्ट युथ सर्कलद्वारा काठमाडौंमा आयोजित संकटमा संविधान विषयक विचार गोष्ठिमा महामन्त्री कोइरालाले काँग्रेसले आन्दोलन गर्दा कसैसँग मिल्नु नहुने बताए ।
काँग्रेसको आफ्नै विचार र अस्तित्व भएका कारण संयुक्त आन्दोलनमा जानु नहुने उनको भनाई छ । उनले भने, ‘नेपाली काँग्रेसको आफ्नै विचार र अस्तित्व भएका कारण संयुक्त आन्दोलनमा जानु हुँदैन । संयुक्त आन्दोलनमा गए काँग्रेसलाई घाटा हुन्छ ।’ महामन्त्री कोइरालाले आफ्नो कार्यकर्ताहरुलाई समेटेर एकजुट बनाएर लिएर जान सके काँग्रेसको भविष्य उज्वल रहेको उनले बताए ।
कार्यक्रममा पुष्पकमल दाहाल–माधवकुमार नेपाल नेतृत्वको नेकपाका स्थायी कमिटी सदस्य रघुजी पन्तले संविधानको रक्षा गर्नु अहिलेको मूल दायित्व भएको बताए । उनले संविधान, लोकतन्त्र, गणतन्त्र र धर्म निरपेक्षताको रक्षा गर्नुपर्ने उनको भनाइ छ । अहिले संघीयता र धर्मनिरपेक्षताको बारेमा प्रश्न उठाएर संविधानलाई कमजोर बनाउनु नहुने उनले बताए । नेता पन्तले वैशाखमा निर्वाचन नहुने भन्दै संविधानको रक्षाको निम्ति सबै राजनीतिक दल मिलेर आन्दोलनमा जानुपर्ने धारणा राखे ।
कांग्रेसका केन्द्रीय सदस्य मीनेन्द्र रिजालले अहिलेको समस्याको मुख्य जड प्रधानमन्त्री ओलीको मानसिकता रहेको बताए । ओलीलाई जनताले संसद्, संविधान र कानुनको अधिनमा बसेर शासन गर्न चुनाव जिताएर पठाएको भए पनि कानुन, संविधान, अदालत केही नमान्ने प्रवृत्ति ओलीमा रहेको उनको भनाइ छ । नेता रिजालले संसद् विघटनअघि एकै ठाउँमा बसेका मान्छेहरु अहिले विभक्त भएको भन्दै कुनै एकको पक्षमा कांग्रेस नलाग्ने पनि स्पष्ट पारे ।