
२७ माघ, काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर महानायिकाको उपाधिले सम्मानित भएकी छन् । आरके इन्टरटेनमेन्टले आफ्नो २० औं वार्षिकोत्सवको अवसर पारेर अभिनेत्री मानन्धरलाई यो सम्मान प्रदान गरेको हो ।
करिव एक दशकअघि यही समुहले अभिनेता राजेश हमाललाई महानायकको उपाधि दिएको उक्त समुहद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । हालै काठमाडौंमा आयोजित समारोहमा समारोहमा अभिनेत्री करिश्मा मानन्धरलाई महानायिका लेखिएको स्यासे र क्राउन लगाएर महानायिका घोषणा गरिएको हो । उनलाई राजेश हमाललगायतले महानायिका घोषणा गर्दै बधाई ज्ञापन गरे ।
समारोहमा कलाकार नीर शाह, कुलमान घिसिङ्ग, गीतकार डा.भोला रिजाल, गीतकार मिन सागर लामा लगायतका व्यक्तिहरुलाई समेत राष्ट्रिय सम्मान प्रदान गरिएको थियो । समारोहमा आरके इन्टरटेनमेन्टले आयोजना गरेको अनलाइन ग्राण्ड सिङगिङ आइडल तथा स्याल यु डान्स कार्यक्रमका विजेतालाई पनि अवार्ड वितरण भएको थियो ।
सिङगिङ आइडलका विजेता मोनिका तमाङ तथा फस्ट रनरअप सुमिरन हुमागाई थिए भने सेकेन्ड रनर्सअप मिनिसा तामाङ भएकी थिइन् । कार्यक्रममा सिंगिङ आइडलका निर्णायकहरु आनन्द कार्की, मिन साागर लामा, सरिता भारती र सरोज प्याकुरेललाई पनि सम्मान गरिएको थियो ।