समाचार

पत्रकार थापाको हत्यामा संलग्न अभियुक्तलाई छोड्न वैद्य माओवादीको माग

jayabahadur shahi

२७ माघ, सुर्खेत । मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्या अभियोगमा पक्राउ परेका जयबहादुर शाहीलाई छाड्न माग गरेको छ । मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै ६८ वर्षीय शाहीलाई अविलम्ब, विनासर्त रिहाइ गर्न माग गरेको  हो ।

जिल्ला प्रहरी कार्यालय, दैलेखले शाहीलाई २४ माघमा पक्राउ गरेको थियो । प्रहरीका अनुसार जिल्ला अदालत दैलेखबाट दुई वर्ष कैद सजाय तोकिएका शाहीले पूर्पक्षका लागि १ वर्ष ७ महिना १ दिन सजाय भुक्तान गरिसकेका छन् ।

बाँकी सजाय दिलाउन उनलाई कारागार चलान गरिएको हो । १ वर्ष ७ महिना १ दिन कैद भुक्तान गरी बन्दीप्रत्यक्षीकरणमा परेका कारण अदालतको फैसला ढिला आएपछि थुनामुक्त भइ शाही फरार थिए । पत्रकार थापा द्वन्द्वकालमा तत्कालीन माओवादीबाट मारिएका थिए ।

द्वन्द्वकालमा तत्कालीन माओवादीले दैलेख बजारको खानेपानी लाइन काटिएपछि समस्या समाधान गर्न वार्ताका लागि भन्दै बोलाइएका उनलाई साबिकको द्वारी गाविस–१, हालको नौमुले गाउँपालिका–३ मा २०६१ साल साउन २७ गते हत्या गरेको थियो ।

माओवादीले हत्या गरेपछि पत्रकार थापाकी श्रीमती लक्ष्मीले जिल्ला प्रहरी कार्यालय दैलेखमा २०६५ भदौ ५ गते ९ जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । त्यसबेला प्रहरीले पाँच जनालाई पक्राउ गरेको थियो ।

cpn notice

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस