समाचार

अग्रपंक्तिमा खटिने शिक्षकलाई कोरोना खोप लगाउने व्यवस्था गर्न शिक्षा मन्त्रालयको अनुरोध

education ministry

२७ माघ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अग्रपंक्तिमा खटिने शिक्षक तथा कर्मचारीलाई प्राथमिकताका आधारमा कोरोना खोप लगाउने व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गरेको छ । शिक्षा मन्त्रालयले मंगलबार सचिवस्तरीय निर्णय गरी खोप लगाउने व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयलाई अनुरोध पत्र पठाएको हो ।

‘मन्त्रालयले प्राथमिकताको आधारमा विद्यालय र विश्वविद्यालयमा कार्यरत शिक्षकलाई खोप लगाउने व्यवस्था गर्न अनुरोध गर्दछौं’,मन्त्रालयद्वारा लेखिएको पत्रमा उल्लेख छ । यसअघि शिक्षक महासंघ, नेपाल अभिभावक संघ, प्याब्सन, एन प्याब्सन लगायतका सरोकारवाला निकायले लाखौं विद्यार्थीसँग जोडिने र फ्रन्ट लाईनमा खटिने शिक्षकलाई कोभिड खोप लगाउनुपर्ने बताउँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठलाई ध्यानाकर्षण गराएका थिए ।

शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले सबै शिक्षकलाई खोप लगाउने व्यवस्था गर्न मन्त्री समक्ष आग्रह गरिसकेका छन् । प्याब्सन अध्यक्ष टीकाराम पुरी र एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले कोभिड–१९ खोप सबै किसिमका शिक्षकलाई तत्काल लगाउने व्यवस्था गर्न मन्त्रालयलाई आग्रह गरेका थिए। मन्त्री श्रेष्ठले कोभिड–१९ खोप लगाउने अग्रपंतिको सुचीमा शिक्षकलाई राख्न आग्रह गरेका थिए ।

मन्त्रालयले स्वाथ्य तथा जनसंख्या मन्त्रालयमा पत्राचार गरेपछि स्वाथ्य मन्त्रालयले थप प्रकृया अघि बढाउने विषयमा आफु विश्वस्त रहेको मन्त्री श्रेष्ठको भनाई थियो । यसअघि शिक्षा तथा मानव स्रोत केन्द्रले कोभिड १९ को खोप लगाउने विषयमा तथ्याङक संकलन गरिसकेको थियो ।  सरकारले दोस्रो चरणमा पत्रकार र विदेशी दूतावास, कुटनीतिक नियोगका अधिकारीलाई खोप लगाउन सुरु गरिसकेको छ । यहि माघ १४ गतेबाट शुरु भएको अभियानको दोस्रो चरण सोमबारबाट शुरु भैसकेको छ ।

कोभिड विरुद्धको खोपका लागि शिक्षक कर्मचारीको एकिन विवरण संकलन गर्न शिक्षा तथा मानव श्रोत विकास केन्द्रले सबै स्थानीय सरकारका शिक्षा शाखालाई गत पुस १० गते नै परिपत्र गरेको थियो । स्वास्थ्य सेवा विभागले मन्त्रालयसँग सामुदायिक र संस्थागत शिक्षण संस्थामा कार्यरत सम्पूर्ण शिक्षकको नामावली पठाउन गरेको पत्राचार अनुसार केन्द्रले विवरण संकलन गरिसकेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस