२९ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधिन प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र धरहराको निरीक्षण गरेका छन् । बिहीबार प्रधानमन्त्री ओलीले पुनर्निर्माण भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र धरहराको अवलोकन गरेका हुन् ।
भूकम्पको कारण क्षतिग्रस्त प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र धरहराको पुर्ननिर्माण भईरहेको छ । सिंहदरबारको पुर्ननिर्माणको कामप्रति प्रधानमन्त्रीले सन्तोष व्यक्त गर्नुभएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए ।
सिंहदरबारको पुनर्निर्माणको काम सकेर फागुन ३ गते उद्घाटन गर्ने ज्ञवालीले जानकारी दिए । धरहरा पुनर्निर्माणको काम पनि राम्रो भएको प्रधानमन्त्रीले प्रतिक्रिया दिएको उनले बताए । धरहराको २१ तलासम्मको पुनर्निर्माणसम्मको काम सम्पन्न भइसकेको र बाँकी रहेको दुई तलाको निर्माण कार्य फागुन महिना भित्रै सम्पन्न गर्नेगरी काम अघि बढेको ज्ञवालीले जानकारी दिए ।