१ फागुन, काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हजारौं सहिदको बलिदानीपछि लेखिएको संविधान नै धरापमा पर्ने हो कि भन्नेभन्ने खतरा रहेको बताएका छन् । जनयुद्ध दिवसको अवसरमा काठमाडौंमा शनिबार बारबर्दिया नगरपालिकाले आयोजना गरेको ‘जीवनगाथा’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले ठूलो बलिदानीपछि प्राप्त उपलब्धि नै गुम्ने खतरा उत्पन्न भएको बताएका हुन् ।
उनले भने, ‘यस्तो परिस्थितिमा यो जीवनगाथा आएको छ । कहीँ कतै संघीय गणतान्त्रिक लोकतन्त्र नै धरापमा जाने हो कि ? कहीँ हजारौ सहिदहरुले बलिदान गरेर रगतले लेखेको संविधान नै धरापमा पर्ने हो कि ? भन्ने खतरा पैदा भएको बेला पनि छ । यस्तो बेलामा तपाईंहरुले यो जीवनगाथा प्रकाशित गरेर वैधानिक ढंगले अगाडि ल्याउनुभयो । यसको विशेष अर्थ र महत्त्व नेपालको इतिहासमा रहिरहने छ भन्ने म ठान्छु । र यसले हामीले रगत दिएर प्राप्त गरेको समावेशी लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता जस्ता विषयहरुको रक्षाका निम्ति पनि यसले प्रेरणा दिनेछ ।’
जनयुद्धमा शहीद, ज्यान गुमाएका, बेपत्ता पारिएका तथा घाईते योद्धाहरुको जीवनगाथा सार्वजनिक गर्नका लागि जनयुद्ध सुरु गरेकै दिन रोजेकोमा उहाँले बारबर्दिया नगरपालिकालाई धन्यवाद पनि दिए । युद्धकालीन समय योगदान पुरयाएका व्यक्तित्वका बारेमा विभिन्न पुस्तकहरु प्रकाशित भएपनि सरकारका तर्फबाट बैधानिक ढंगले प्रकाशित भएको पहिलो ऐतिहासिक दस्तावेज भएको भन्दै जीवनगाथा प्रकाशित गर्नेमा देशभरीको पहिलो नगरपालिका भएकोमा पनि उनले धन्यवाद दिए ।