
१ फागुन, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले निर्मला पन्त र भागरथी भट्टका हत्यारालाई सजाय दिने बताएका छन् । उनले आज बुटवलमा आयोजित सभामा पन्त र भट्टका हत्यारा पत्ता लगाएर सजाय दिने बताएका हुन् ।
उनले भने, ‘दुई–चार दिन भाग्लान् । दुई–चार दिन उम्केलान् । एक वर्ष उम्केलान् । सजाय कट्टा हुनेछैन । अपराधीलाई पूराको पूरा सजाय दिनेछौँ । निर्मला र भागरथी हत्याकाण्डमा संलग्न अपराधीलाई अदालतको कठघरामा उभ्याएर सजाय दिनेछौं ।’
उनले सरकारको बद्नाम गर्न केही आपराधिक तत्त्व क्रियाशील भएकाे बताए । उनले भने, ‘त्यस्ता तत्त्वले निर्मला, भागरथी हत्याकाण्ड जस्ता घटनाहरु घटाएका छन् ।’ उनले बलात्कार–हत्याकाण्डका अपराधीलाई पानीमुनि गए पनि नछाड्ने बताए ।
उनले भने, ‘यस्ता हत्याकाण्डका अपराधीलाई पानीमुनि गए पनि छोडिनेछैन । विश्वको कुनै पनि भागमा भागेर पुगे पनि खोजेर–समातेर ल्याएर कानुनी दायरामा राखिनेछ । कारबाही गरेर छोडिनेछ । अपराधबाट उम्कन दिइनेछैन ।’