समाचार

कोरोना खोप : आजबाट सरकारी कर्मचारी र स्थानीय जनप्रतिनिधिलाई

corona khop

२ फागुन, काठमाडौं । आइतबारदेखि पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई कोरोनाविरुद्धको खोप लगाइँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबारदेखि स्थानीय तहका कर्मचारी, जनप्रतिनिधि, सबै सरकारी कार्यालयका कर्मचारी, नेपाल प्रहरी, सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मी, सार्वजनिक संस्थान र बैङ्कका कर्मचारीलाई खोप लगाइने छ ।

यसबाहेक काठमाडौंबाहिर कार्यरत पत्रकार तथा पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मीलाई पनि कोरोनाविरुद्धको खोप लगाइने काठमाडौं जिल्ला जनस्वास्थ्य प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिए ।

राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, शुक्रराज अस्पताल, प्रसूति गृह थापाथली, सशस्त्र प्रहरी अस्पताल बलम्बु, वीरेन्द्र सैनिक अस्पताल छाउनी, वीर अस्पताल, प्रहरी अस्पताल लाजिम्पाट, शिक्षण अस्पताल, गङ्गालाल अस्पताल, नेपाल मेडिकल कलेज अत्तरखेल, काठमाडौं मेडिकल कलेज सिनामङ्गल र निजामती कर्मचारी अस्पताल, बानेश्वरबाट खोप सेवा लिन सकिने उनले जानकारी दिए ।

यसअघि पहिलो चरणअन्तर्गत पत्रकार तथा कूटनीतिक नियोगका कर्मचारी र दूतावासका कर्मचारीमध्ये शुक्रबारसम्ममा तीन हजार ४७९ जनाले खोप लगाएका छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस