
२ फागुन, काठमाडौं । कोरोना महामारीको छानविनका लागि खटिएको विश्व स्वास्थ संगठनको अन्तर्राष्ट्रिय टोलीलाई कोभिड–१९ संक्रमणका सुरुवाती घटनाहरुबारेको विस्तृत तथ्याङ्क उपलब्ध गराउन चीनले अस्वीकार गरेको छ ।
अस्ट्रेलियन संक्रामक रोग विज्ञ डोमिनिक ड्वेयरका अनुसार डब्ल्युएचओको टोलीले २०१९ डिसेम्बरमा उहानमा फैलिएको महामारीको सुरुवाती चरणका दौरान पहिचान भएका १ सय ७४ वटा घटनाको विस्तृत तथ्याङ्क मागेको थियो, तर चीनले यसको साराशंमात्रै उपलब्ध गरायो।
यस्तो विस्तृत तथ्याङ्कलाई ‘लाइन लिस्टिङ्ग्स’ भनिन्छ । यस्तो तथ्याङ्क प्राय अज्ञात नै राखिने भएपनि व्यक्तिगत रुपमा बिरामीलाई कस्तो प्रश्न सोधिएको थियो ? उनीहरुको प्रतिक्रिया कस्तो थियो भन्ने विषयहरुमा भने विश्लेषण गरिन्छ ।
‘महामारीको अनुसन्धानका लागि यो आवश्यक अभ्यास हो,’ सिड्नीबाट रोयटर्ससँग भिडियो कल गर्दै ड्वेयरले भने । १ सय ७४ जना संक्रमितमध्ये आधामात्रै हुवान बजारको सम्पर्कमा पुगेकाले बिस्तृत तथ्याङ्क अनुसन्धानका लागि महत्वपूर्ण साबित हुने उनले बताए । प्रारम्भिक अवस्थामा हुवान बजारमै भाइरस पहिचान भएको थियो, उहानस्थित यस होलसेल सी फूड केन्द्रलाई अहिले बन्द गरिएको छ ।
कोरोना भाइरसको उद्गम थलो पत्ता लगाउने उद्देश्यले चार साता लामो अध्ययन गरेपछि डब्ल्युएचओको मिशन अहिलेका लागि यसै साता टुंगिएको छ, यद्यपि, कुनै निष्कर्ष फेला परेको छैन । चिनियाँ अधिकारीहरुले अनुसन्धानका लागि थुप्रै सामाग्रीहरु उपलब्ध गराएपनि विस्तृत तथ्याङ्कमा पहुँच नदिएको विषयलाई टोलीको अन्तिम प्रतिवेदनमा उल्लेख गरिने ड्वेयरले बताए ।