समाचार

बागलुङका तीन योजनाका लागि पर्यटन मन्त्रालयसँग १५ करोडको साझेदारी

Ministry of Tourism

२ फागुन, बाग्लुङ । पर्यटन पूर्वाधार तथा पर्यटन उपजको विकास र प्रवद्र्धधन गर्न पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले बागलुङका तीन योजनामा सझेदारी गर्ने भएको छ । सोका लागि झण्डै रु १५ करोड २१ लाख बजेट विनियोजन गरिएको छ ।

पूर्वाधार निर्माण तथा पर्यटन उपज विकास साझेदारी निर्देशिका २०७७ अनुसार साझेदारीमा ती आयोजना सञ्चालन हुनेछन् । प्रदेश र स्थानीय तहसँग लागत साझेदारीमा पर्यटकीय गन्तव्य पूर्वाधार विकास कार्यक्रमअन्तर्गत मन्त्रालयको गत माघ २९ गतेको मन्त्रीस्तरिय बैठकले आयोजनाको छनोट तथा बजेट विनियोजन गरेको हो । गण्डकी प्रदेशमा सबैभन्दा धेरै योजना बागलुङ र गोरखामा सञ्चालन हुनेछन् ।

यी जिल्लामा तीन/तीन योजना छनोट भएका मन्त्रालयले सूचनामार्फत जानकारी गराएको छ । बागलुङ नगरपालिका–५ र ६ को मालिका सामुदायिक वन क्षेत्रमा वन्यजन्तु संरक्षण तथा पर्यटन प्रबद्र्धन आयोजना सञ्चालन हुने भएको छ । रु पाँच करोड ६५ लाखको योजनामा तीन करोड ६५ लाख मन्त्रालयले र रु एक करोड ९६ लाख नगरपालिकाले साझेदारी गर्ने नगर प्रमुख जनकराज पौडेलले बताए ।

गलकोट नगरपालिकामा गलकोट टेउवा मूर्तिकला सङ्ग्रहालय निर्माण तथा घुम्टेसम्म सडक पहुँच विस्तारको योजना छनोट भएको छ । दुई वर्षमा सकिने रु सात करोडको लागतको यो योजनाका लागि मन्त्रालयको चार करोड ५५ लाख अनुदान र नगरपालिकाको रु दुई करोड ४५ लाख साझेदारी रहने छ । ताराखोला गाउँपालिकामा सांस्कृतिक सङ्ग्रहालय निर्माणका लागि बजेट विनियोजन गरिएको छ । रु दुई करोड ६६ लाखको योजनाका लागि रु एक करोड ८६ लाख  मन्त्रालय र रु ८० लाख गाउँपालिकाले साझेदारी गर्नेछन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस