
२ फागुन, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वर्तमान सरकार कसको नेतृत्वको हो भनि इजलासमा प्रश्न गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि आइतबारदेखि सुरु भएको रिट निवेदकतर्फको जबाफी बहसका क्रममा प्रधानन्यायाधीश राणाले अधिवक्ता डा दीनमणि पोखरेललाई यसबारे प्रश्न गरेका हुन् ।
इजलासमा राणालले सोधे, ‘ अहिलेका प्रधानामन्त्री जो हुनुहुन्छ, केपी ओलीको सरकार हो कि नेकपाको सरकार हो ? जबाफमा पोखरेलले नेकपाको सरकार भएको बताए । राणाले फेरि थपे, ‘जब नेकपाको बहुमत छ, संसदीय दल छ । अर्थात् धारा ७६ को उपधारा १ बमोजिमको सरकार हो, अब (सरकार बनाउन) धारा २, ३ र ५ मा जाने अवस्था कहाँ छ संविधानमा ? उपधारामा १ बमोजिम सरकार बनिसकेपछि बाँकी उपधारा त त्यसै लोप भए नि हैन र ?’
जवाफमा अधिवक्ता पोखरेलले सरकार कसरी बन्छ भन्ने विषय संसदीय प्रक्रियामा मात्र थाहा हुने बताए । ‘यो हामीले चिन्ता गर्ने विषय होइन श्रीमान् । प्रक्रियामा गएपछि संसदले हेर्छ । नेकपाले अर्को संसदीय दलको नेता दिनै सक्दैन ? त्यति निकम्मा भैसक्यो नेकपा ? प्रोसेसबाट सरकार नआउने अवस्था हुनुपर्यो विघटनमा जान’ उनले भने ।
पोखरेलले धारा ७६(१) को सरकारले काम गर्न नसके राजीनामा दिनुपर्ने र त्यसपछि अर्को ७६(२), (३) र (५) बमोजिमका सरकार बन्न सक्ने बताए । ‘प्रधानमन्त्री आउन सकेन, (सरकार) बन्न सकेन भने छुट्टै कुरा हो तर ७६(१) ले विघटन अधिकार हो भन्न सक्दैन’ उनले भने ।