अर्थनीति

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १५ हजारभन्दा बढीलाई रोजगार

pm rojgar

२ फागुन, काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १५ हजारभन्दा बढी व्यक्ति रोजगारीमा लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आइतबार चालु आर्थिक वर्ष ०७७/७८ को अर्धवार्षिक प्रगति विवरण र समग्र प्रतिवेदन सार्वजनिक गर्दै मन्त्री गौरीशंकर चौधरीले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत फागुन २ गतेसम्म ७ लाख ४३ हजार १६४ जना बेरोजगारको विवरण आएकोमध्ये १५ हजार ६ सय ७० जना कामका लागि पारिश्रमिकतर्फ रोजगारीमा खटिएको बताएका हुन् । उनले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत कार्यरत दुई लाखजना श्रमिकको सामूहिक दुर्घटना बिमा गरिएको पनि जानकारी दिए ।

मन्त्री चौधरीले सामाजिक सुरक्षा कोषमा ४ अर्ब १८ करोड संकलन भएको बताए । उनले हालसम्म ९ वटा देशहरुसँग द्धिपक्षीय श्रम समझदारीपत्रमा हस्ताक्षर भएको र ५ वटा देशहरुसँग श्रम सम्झौता गर्ने प्रक्रिया अगाडि बढाइएको पनि बताए । कोभिड १९ को कारणले विदेशमा रोजगारी गुमाई अलपत्र परेका १ सय ८७ जना कामदारलाई उद्दार गरिसकिएको र थप ३ महिलासहित ३९ जनाको उद्दारका लागि विभिन्न दूतावासहरुमा पत्राचार गरिएको उनले जानकारी दिए ।

मन्त्री चौधरीले विभिन्न ऐन, नियम, कार्यविधि, मापदण्ड तथा निर्देशिकाहरु संशोधन तथा जारी भएको पनि जानकारी दिए । वैदेशिक रोजगार बोर्डबाट बैदेशिक रोजगारीमा मृत्यु भएका ६ सय ८८ जना मृतकका परिवारलाई ४८ करोड ४९ लाख रुपैयाँ उपलब्ध गराइएको, अङ्गभङ्ग भएका ६० जना कामदारलाई २ करोड ७ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको, ४२५ जना कामदारको शव घर ठेगानामा पु¥याइएको र १७३ जनाको शव सम्बन्धित देशमा नै अन्त्येष्टि गरिएको उनको भनाई छ । उनले सामाजिक सुरक्षा योजना संशोधन कार्यविधि २०७५ मा दोस्रो संशोधन भएको समेत जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस