
२ फागुन, तेह्रथुम । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका स्थायी समिति सदस्य वर्षमान पुनले कोभिड–१९ महामारीले शिथिल भएको मुलुकको अर्थतन्त्रले मध्यावधि निर्वाचन धान्न नसक्ने बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध तेह्रथुममा आइतबार आयोजित सभालाई सम्बोधन गर्दै पूर्व अर्थमन्त्रीसमेत रहेका पुनले निर्वाचनमा ५० अर्ब खर्च हुने बताए। पाँच वर्षसम्म सरकार चलाउन जनताले दिएको अभिमतमाथि घात गर्दै राज्यकोषबाट ५० अर्ब खर्च गराएर निर्वाचन गराउनु लोकतन्त्र नभएको उनको भनाइ थियो ।
निर्वाचनका नाममा बर्बाद पार्ने ५० अर्ब रुपैयाँले ७७ वटै जिल्लामा एक/एकवटा अस्पताल निमार्ण गर्न सकिने वा सबै जनतालाई कोभिड–१९ विरुद्धको खोप निःशुल्क लगाउन सकिने पुनले उल्लेख गरे । ‘जनताले पाँच वर्ष चलाउन दिएको संसद विघटन गर्ने र ५० अर्ब खर्च गरेर चुनाव गर्छु भन्नु कुनै पनि तरिकाले लोकतन्त्रको पक्षमा छैन’, पुनले भने, ‘प्रधानन्त्रीजी तपाईं जनताप्रति जिम्मेवार हुनुहुन्छ ? ५० अर्ब खर्च गरेर गर्न खोजेको के हो ? कस्तो लोकतन्त्रको अभ्यास गर्न खोेजेको हो ?’