३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सरकारको तीन वर्षे उपलब्धि सार्वजनिक गर्ने भएका छन् ।
बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदबारबाट सरकारको उपलब्धि सार्वजनिक गरिने प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । प्रतिनिधिसभा चुनाव सम्पन्न भएपछि २०७४ साल फागुन ३ गते प्रधानमन्त्रीको पदभार ग्रहण गरेका थिए । त्यसदिन तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए ।
सरकारका तीन वर्ष पुगेकै उपलक्ष्यमा भूकम्पपश्चात् पुनर्निर्माण गरिएको सिंहदरबारको मुख्य भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको थापाले जानकारी दिएका छन् । २०७२ सालको विनाशकारी भूकम्पले सिंहदरबारको पूर्व, उत्तर र दक्षिणतर्फ भवन क्षतिग्रस्त तुल्याएको थियो । प्रबलीकरण प्रविधिबाट पुनर्निर्माण गरिएपछि अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय त्यहीँबाट सञ्चालन हुने थापाको भनाइ छ ।
सरकारका तीनवर्षे उपलब्धि सार्वजनिक गर्ने सिलसिलामा प्रधानमन्त्री झन्डै ११ महिनापछि सिंहदरबार प्रवेश गर्दै छन् । सरकार पाँच वर्षका लागि गठन भए पनि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरी आगामी बैशाखमा मध्यावधि निर्वाचन घोषणा गरेका छन् ।