
३ फागुन, काठमाडौं । उत्तरपूर्वी भारतीय राज्य त्रिपुराका मुख्यमन्त्री विप्लव देवले भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले भारतीय जनता पार्टीको नेपाल र श्रीलंकामा विस्तार गर्ने योजना बनाएको बताएका छन् ।
त्रिपूराका मुख्य मन्त्री विप्लव देवले अमित शाहसँग आफ्नाे कुरा भए अनुसार नेपाल र श्रीलंकामा भाजपा अनुकुलकाे सरकार बनाउने याेजना रहेकाे सञ्चारमाध्यमलाई बताएका छन् ।
इस्ट मोजोमा प्रकाशित खबरलाई उद्धृत गर्दै द वायरले विप्लव देवसँग अमित शाहले शनिबार भएकाे भेटमा नेपाल र श्रीलंकामा भाजपा अनुकुलको सरकार स्थापित गर्ने योजना रहेको बताएको उल्लेख गरेको छ ।
शनिबार त्रिपूरा भ्रमणमा गएका गृह मन्त्री शाहले रविन्द्र शतवार्षिकी भवनमा भएको पार्टी बैठकमा भारतका सबै राज्यमा जित हाँसिल गरेपछि छिमेकी देशमा पनि पार्टी स्थापना गरेर सरकार बनाउने योजना रहेको बताएको खबरमा उल्लेख छ ।
देवले इस्ट मोजोसँग भनेका छन्, ‘हामी स्टेट गेस्ट हाउसमा कुरा गरिरहेका थियौं । उत्तरपूर्वी क्षेत्रका पार्टी सचिव अजय जमवालले भारतका धेरै राज्यमा बिजेपीले सरकार बनाएको बताउनुभयो । त्यसको जवाफमा शाह (अमित) ले श्रीलंका र नेपाल बाँकी रहेको बताउनुभयो । उहाँले भन्नुभयो–हामीले श्रीलंका र नेपालमा पनि पार्टी बिस्तार गर्नु पर्छ र जित निकालेर सरकार बनाउनुपर्छ ।’
केरला तथा पश्चिम बंगालमा पनि भाजपा सरकार बनाउनेमा शाह विश्वस्त रहेको त्रिपूराका मुख्यमन्त्री देवले बताए ।