
३ फागुन, काठमाडौं । गिनिज बुक अफ वर्ल्ड रेकर्ड बनाएका किर्तिमानी गीतकार डा.डीआर उपाध्यायको ११ औं उपन्यास ‘कफी लभ’ प्रणय दिवसको अवसरमा सार्वजनिक भएको छ । हिजो (आइतबार) प्रणय दिवसको अबसर पारेर नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेती, आख्यानकार भुवनहरि सिग्देल, कृतिका लेखक, प्रकाशक लगायतले पुस्तकको संयुक्त रुपमा विमोचन गरेका हुन् ।
कलेज पढ्दै गरेका युवा युवतीको कफीको चुस्कीसँगै सुरु भएको प्रेम सम्बन्ध र त्यसले जीवनमा ल्याएको आरोह अवरोहको कथामा उपन्यासमा रहेको छ । देहरादुनका दुन विश्वविधालयमा भेटिएका ५ नेपाली विद्यार्थीहरुबीचको कलेज अध्ययन क्रमका विभिन्न घटना र उनीहरुको आपसी प्रेममा यो उपन्यास केन्द्रित रहेको लेखक उपाध्यायले बताए ।
कार्यक्रममा कुलपति उप्रेतीले अहिलेका तन्नेरी पुस्ताको प्रेम एवम् जीवन शैली र बर्तमान नेपाली समाजको अवस्था यसले छर्लङ्ग पारेका बताए । आख्यानकार भुवनहरि सिग्देलले उपन्यास कफी लभ’ले प्रेमको परिभाषा सामाजिक मूल्य र मान्यताभन्दा फरक किसिमले दिएको बताए । उनले समकालीन पुस्तालाई यो उन्यासका कथा अहिले आफ्नो भोगाई जस्तो लाग्ने र पौढ पुस्ताले आफ्ना कलेजका दिनहरु स्मरण गर्ने समेत बताए ।
लेखक उपाध्यायले यो पुस्तक लेख्दा आफु २४ वर्षीय तन्नेरी भएर त्यही उमेरका युवा युवतीहरुको संगतमा रहि उनीहरुको प्रेम भावलाई पुस्तकमा समेटेको बताए । पुस्तक तन्नेरी मनहरुसँग सामिप्य रहेको उनले जानकारी गराए । कवि हेम प्रवास, संगीतकार सन्तोष श्रेष्ठ, गायक तथा संगीतकार सरद अधिकारीले लेखक उपाध्याको चर्चा गरेका थिए ।
पुस्तकको सम्पादक तथा सञ्चारकर्मी डब्बु क्षत्रीले गरेका हुन् । आफ्नो उमेरभन्दा आधा उमेरमा झरेर आख्यानकार डि.आर उपाध्यायले अहिलेको पुस्ताको प्रेमलाई गहन रुपमा पुस्तकमा उतारेको क्षेत्रीले बताए । घटना, स्थान, परिवेश र सम्वादलाई यथार्थपरक रुपमा समेटेकाले यो उपन्यास सबैलाई आफ्नो कथा हो जस्तो लाग्ने उनको भनाई रहेको छ । शिखा बुक्सले प्रकाशन तथा ज्ञानज्योती पब्लिकेशनले वितरण गरेको यो उपन्यासलाई डब्बु क्षत्रीले सम्पादन गरेका छन भने २४० पृष्ठको यो पुस्तकको मूल्य ३७५ रुपैया रहेको छ ।