
३ फागुन, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपाको विभाजनका विषयमा निर्वाचन आयोगले गरेको ढिलासुस्तीले शंका पैदा गरेको बताएका छन् । सोमबार भैरहवामा कांग्रेसले आयोजना गरेको विराेधसभालाई सम्बाेधन गर्दै उनले अदालतले भन्दा पनि निर्वाचन आयोगबाट बदमासी हुन सक्ने बताएका हुन् ।
‘निर्वाचन आयोगमाथि शंका गर्नुपर्ने बेला भइसकेको छ । किन यसले चुनावको कार्यतालिका प्रकाशित गर्दैन ? सबै पार्टीलाई बोलाएर किन चुनावी कार्यक्रम दिन सक्दैन ? अदालतको निर्णय पर्खने काम आयोगको होइन,’ देउवाले सभालाई सम्बोधन गर्दै भने, ‘आयोगले छ महिनाभित्र निर्वाचन गर्छु भनेर जनतालाई भनेर चुनावी कार्यक्रम सार्वजनिक गर्नुपर्छ ।’
आयोगले चुनावबारे कुनै तयारी नगरेको र नबोलेको भन्दै देउवाले आपत्ति जनाएका हुन् । ‘संसद् विघटन गरेको ६ महिनाभित्र चुनाव गराइसक्नुपर्छ। तर निर्वाचन आयोगले अझै किन कार्यतालिका ल्याउँदैन ? जेठको अन्त्यसम्म चुनाव गर्नैपर्छ । तर निर्वाचन आयोग चुनाव गराउँछु भनेर बोलेकै छैन । बदमासी गर्न सक्छ आयोगले । किन बोल्दैन निर्वाचन आयोग ? शंका गर्नुपर्ने बेला भएको छ,’ देउवाले भने ।
सभापति देउवाले प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको झगडाले कांग्रेसमा समस्या आउन नहुनेमा सचेत गराए । ‘अहिले ओली र प्रचण्डबीच कुर्सीका लागि झगडा भइरहेको छ । कांग्रेसकै नेताहरू कोही ओली र कोही प्रचण्ड ठीक भनिरहेका छन्, उनीहरूको झगडाले हाम्रो पार्टीमै समस्या आइसकेको छ । हामी कतैतिर लाग्ने काम छैन,’ देउवाले भने ।
देउवाले नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्ड राजाभन्दा पनि ठूला राजा हुन थालेको बताए । उनले भने, ‘ओली र प्रचण्ड अहिले नेकपाभित्र भिन्नभिन्न समूहमा छन् । कुर्सीका लागि उनीहरुबीच झगडा भइरहेको छ ।’ कार्यक्रममा बोल्दै काँग्रेस नेता बालकृष्ण खाणले सरकारले एकपछि अर्को गल्ती जाँदा जनतामा चरम निराशा छाएको बताए ।