
५ फागुन, बैतडी । गएको माघ २१ गते बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीय किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न १६ वर्षीय दिनेश भट्टले प्रहरीसमक्ष आफ्नो अपराध स्वीकार गरेका छन् ।
सनातन धर्म माध्यमिक विद्यालयको कक्षा ११ मा पढ्ने दिनेशले भागरथीलाई बाटो ढुकेर हत्या गरेको स्वीकार गरेको सुदुरपश्चिम प्रहरी प्रवक्ता एसएसपी मुकेश कुमार सिंहले जानकारी दिए । उनी सुरुवाती दिनदेखी नै प्रहरीको शंकाको घेरामा थिए ।
उनीहरु एउटै विद्यालयमा अध्ययनरत रहेको र उक्त दिन पनि दिनेश हत्या गर्नकै लागि स्कूलबाट चाँडै निस्किएको प्रहरी अनुसन्धानबाट खुलेको छ । दिनेश भागरथीका हत्यारा पत्ता लगाउन विद्यार्थीहरुको आन्दोलनमा सहभागीसमेत हुँदै आएका थिए ।
बयानमा उनले स्कुलबाट फर्किरहेकी भागरथीलाई भीरमा धकेलेको र पछि घाँटी थिचेर मारेको उल्लेख गरेका छन् । उनले भागरथीको परिवारसँग पुरानो रिसिवी साँध्न हत्या गरेको बताएका छन् । प्रहरीले यसबारे दिउँसो ३ बजे यसबारे विस्तृत विवरण सार्वजनिक गर्दैछ ।