५ फागुन, काठमाडौं । १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न आरोपी दिनेश भट्टलाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ । भट्टले घाँटी रेटेर हत्या गरेको र त्यसपछि बलत्कार प्रयास गरेको बयान दिएको प्रहरीले जनाएको छ ।
बुधबार जिल्ला प्रहरी कार्यालय बैतडीमा आयोजित पत्रकार सम्मेलनमा डिआईजी उत्तमराज सुवेदीले आरोपीले भागरथीलाई सुरुमा धकेलेर लडाएको अनि दुवै हातले घाँटी थिचेर हत्या गरेको बताए । सुवेदीले भने, ‘अनुसन्धानले उनी एक्लै यसमा संलग्न देखिएको छ, अब फरेन्सिक ल्याब लगायतक अन्य रिपोर्टहरु आएपछि हामी थप तथ्यहरु बाहिर ल्याउन सक्छौ ।’
भट्टविरुद्ध करणी र ज्यान सम्बन्धी कसुर मुद्दामा म्याद थप भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । माघ २१ गते बिहान ९ बजे घरबाट विद्यालय हिँडेकी भागरथी त्यसपछि कहिल्यै घर फर्किनन् । माघ २१ गते साँझसम्म पनि घर नफर्केपछि खोजी सुरु गरेका परिवारले माघ २२ गते साँझ ५ बजे मात्रै भागरथीको शव लवलेक जंगलको बाटोभन्दा करिब ७० मिटर तल बनमाराको झाडीभित्र फेला परेको थियो ।