
५ फागुन, काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको आइपीओमा १५ लाख १९ हजार १२८ जना लगानीकर्ताले आवेदन दिएका छन् । बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङका अनुसार बुधबार साँझ ४ः४५ बजेसम्म २ करोड ३४ लाख ३३ हजार ७७० कित्ताका लागि आवेदन परेको छ । कुल २ अर्ब ३४ करोड ३३ लाख ७७ हजार रुपैयाँ बराबरको आवेदन परेको हो ।
यो सर्वसाधारका लागि बिक्री खुला गरिएको कुल ३ लाख ७५ हजार कित्तालाई आधार मान्दा ६२.४९ गुणा बढी आवेदन हो । महिला लघुवित्तले आइपीओ भर्ने म्याद १ दिन थप गरी आज बुधबार (फागुन ५ गते) सम्म पुर्याएको हो । यसअघि माघ ३० गतेबाट फागुन ४ गतेसम्म म्याद तोकी कुल ४ लाख कित्ता आइपीओ बिक्री खुला भएको थियो ।
तर माघ ३० गते सोनाम लोसारका अवसरमा सार्वजनिक विदा परेपछि १ दिन थप गरिएको हो । कुल खुला गरिएको मध्ये ०.५% (५ हजार कित्ता) कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको छ भने ५% (२० हजार कित्ता) सेयर म्युचुअल फन्डलाई बाँडफाँट गरिएको छ । बाँकी ३ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिएको हो ।