६ फागुन, काठमाडौं । बलात्कारपछि हत्या गरिएकी भागरथी भट्टको शव माघ २३ गतेदखि जिल्ला अस्पतालकै शवगृहमा राखिएको छ । नकुहियोस् भनेर बरफ हालेर काठको बाकसमा राखिएको छ ।
घटनाका दोषीलाई सार्वजनिक नगर्दासम्म शव नबुझ्ने परिवारको अडान अझै कायम छ । हत्यामा संलग्न आरोपित कक्षा ११ मा पढ्ने छात्रलाई प्रहरीले बुधबार सार्वजनिक गरे पनि परिवार भने विश्वस्त हुन सकेका छैनन् । यो उमेरमा आरोपित एक्लैले हत्या गरेको विश्वास गर्न गाह्रो भएको भागरथीका काका शंकर भट्टले बताए ।
ती छात्रले मारेको भनी तथ्य र प्रमाण नदिएकाले विश्वस्त हुन नसकिएको उनको भनाइ छ । उसले दिएको बयानका आधारमा मात्र हत्यारा साबित गर्न खोजिएको उनले बताए । बयानले भन्दा पनि प्रमाण र तथ्यले अपराध गरेको पुष्टि हुनुपर्ने आफन्तको भनाइ छ ।
यता, प्रहरीले १३ दिनपछि आरोपितलाई सार्वजनिक गरे पनि यहाँका अधिकारकर्मीले आशंका व्यक्त गरेका छन् । एक्लै किशोरले सडकबाट धकेलेर खोल्सीमा लगी दिनदहाडै मार्ने सम्भावना काम भएको भन्दै प्रहरीले अझै गहिरिएर अनुसन्धान गनुपर्ने अधिकारकर्मी रमेश कोलीले बताए । आजको नागरिक दैनिकमा समाचार छ ।