
६ फागुन, काठमाडौं । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा नेकपा प्रचण्ड–नेपाल समूहनिकट विद्यार्थीले बिहीबार काठमाडौंमा प्रदर्शन गरेका छन् । नेकपाको भ्रातृ संगठन अनेरास्ववियुले प्रदर्शनी मार्गस्थित रत्नराज्य क्याम्पसअगाडि विरोध प्रदर्शन गरेको हो ।
प्रदर्शनकारीले आज दिउँसो नेपाल आयलनिगमको कार्यालय घेराउ गर्ने भएको छ । बबरमहलस्थित निगमको केन्द्रीय कार्यालय अगाडि प्रदर्शनसहित घेराउ कार्यक्रम राखिएको अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले जानकारी दिए ।
निगमले एक साताको बीचमा माघ २८ र फागुन ४ गते पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो । फागुन ४ गते डिजेल, पेट्रोल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर दुई रुपैयाँको दरले बढाएको थियो भने माघ २८ गते खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ तथा पेट्रोल र डिजेलमा प्रतिलिटर दुई रुपैयाँको दरले मूल्य बढाएको थियो ।
मूल्यवृद्धिको विरोधमा अनेरास्ववियूले आजै बिहान विभिन्न क्याम्पसअगाडि प्रदर्शन गरेको थियो ।