अर्थनीति

एनआरएन डेभलपमेन्ट फन्डको दर्ता प्रकृया प्रारम्भ, १० अर्ब लगानी भित्र्याउने तयारी

nrn development

६ फागुन, काठमाडौं । एनआरएन डेभलपमेन्ट फन्ड लिमिटेडको दर्ता प्रकृयाको प्रारम्भ भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएन) को पहलमा स्थापना हुन लागेको उक्त फन्डको प्रबन्धपत्र नियमावली तथा कम्पनी दर्ता कागजातमा हस्ताक्षर भएको हो ।

आज काठमाडौँमा संस्थापकहरूका तर्फबाट गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त, गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्व अध्यक्ष तथा संरक्षक जीवा लामिछाने, उपाध्यक्षद्वय डा. बद्री केसी र सोनाम लामा, कोषाध्यक्ष महेश कुमार श्रेष्ठ, सल्लाहकार हरिबोल भण्डारी लगायत डा. खगेन्द्र जीसी, चिरञ्जिीवी थापाले प्रबन्ध पत्रमा हस्ताक्षर गरेका हुन् ।

यो कम्पनीमार्फत नै नेपालमा कम्तिमा १० अर्ब लगानी भित्र्याउने तयारी छ । १० अर्ब लगानीका लागि हालसम्म डेढ अर्ब भन्दा बढी रकमको प्रतिबद्धता आइसकेको छ । हस्ताक्षर समारोहमा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले गैरआवासीय नेपालीले देखेको सपना  छिट्टै पूरा हुन लागेको बताए । कुनैपनि देशको समृद्धिका लागि सामुहिक लगानी आवश्यक भएकोले यस अभियानमार्फत विश्वभरका हरेक नेपालीले व्यक्तिगत लगानी गरेर नेपालको विकास र समृद्धिमा योगदान गर्न सक्ने उनको भनाई थियो ।

यस्तै कार्यक्रममा बोल्दै संघका पूर्व अध्यक्ष तथा संरक्षक जीवा लामिछानेले यस अभियानमार्फत विशेषतः साना लगानी कर्तालाई प्रोत्साहन गर्ने उल्लेख गरे । यस्तै अध्यक्ष कुमार पन्तले नेपालका लागि बहुप्रतिक्षित र ऐतिहासिक दिन भन्दै गैरआवासीय नेपालीलाई नेपालको समृद्धिका लागि योगदान गर्ने बाटो खुलेको बताए ।

१० अर्बको कोषमा सरकारले पाँच प्रतिशत अर्थात ५० करोड रूपैयाँ लगानीको प्रतिबद्धता जनाइसकेको उनले बताए । यस्तै संस्थापकहरूको तर्फबाट १० प्रतिशत अर्थात १ अर्ब रूपैयाँ लगानी गर्ने र त्यसमध्येको १ अर्ब ८० करोडको प्रतिबद्धता जुटिसकेको अध्यक्ष पन्तले बताए। यस अभियानको ८५ प्रतिशत लागनीमा संसारभरका गैरआवासीय नेपालीले १० डलर र त्यसभन्दा माथि लगानी गर्न पाउनेछन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *