७ फागुन, काठमाडौं । गत वर्षको जुनमा भारत र चीनका सैनिकबीच गल्वानमा भएको झडपमा परी ४ जना चिनियाँ सैनिकको मृत्यु भएको खुलेको छ । चीन सरकारले उक्त झडपमा ज्यान गुमाएका चिनियाँ जनमुक्ति सेनाका चार जनालाई शुक्रबार मरणोपरान्त सम्मान गरेपछि उनीहरूले ज्यान गुमाएको खुलासा भएको हो ।
चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार चेन होङजुन, चेन सियाङरोङ, सिआओ सियुआन र वाङ चौरानले सहमतिलाई तोडेर सीमा अतिक्रमण गरेका विदेशी सेनासँगको झडपमा ज्यान गुमाएकाले मरणोपरान्त सम्मान गरिएको जनाएका छन् ।
गत जुनमा गल्वान उपत्यकामा भएको झडपमा २० भारतीय सैनिकको मृत्यु भएको थियो। झडपमा चिनियाँ पक्षतिर पनि हताहती भएको हुनसक्ने आशंका गरिएको थियो तर बेइजिङले औपचारिक जानकारी दिएको थिएन ।
त्यसपछि दुबै देशले सीमामा तनाव मत्थर पार्न प्रयास गरेका थिए। त्यसका बाबजुद् पनि गत जनवरीमा दुई देशका सेनाबीच सामान्य झडप हुँदा दुबै पक्षका २४ जना घाइते भएका थिए । पछिल्लो समय सहमतिमा पुगेपछि भारत र चीनले लद्दाखको पान्गोङ त्सो क्षेत्रबाट सेना र ट्यांक लगायत अन्य सैनिक उपकरणहरू फिर्ता गरिरहेका छन् ।
भारत र चीनबीच अहिलेसम्म सीमा निर्धारण हुन सकेको छैन । पूर्वको अरूणाञ्चलदेखि पश्चिममा आस्काई चीनसम्म दुई देशले आ-आफ्नो दाबी गरेपछि संसारका दुई विशाल जनसंख्या भएका यी मुलुकको सीमाना विवाद नटुंगिएको हो ।
सीमाका विषयमा सन् १९६२ मा युद्ध दुई देशबीच युद्ध भएको थियो । पछिल्लो समय सीमा क्षेत्रमा जाने सैनिकहरूले हतियार नलिने व्यवस्था गरिए पनि बेलाबेलामा दुई देशका सैनिकबीच ठाउँ-ठाउँमा झडपका घटना भइरहन्छन् ।