
९ फागुन, जनकपुर । नगराइन नगरपालिका–६ गंगुलीका ६ वर्षीय चन्दन दासलाई अपहरण गरेको आरोपमा मामा लक्ष्मेश्वर कुमार दासलाई प्रहरीले पक्राउ गरेको छ ।
अपहृत बालकलाई शनिबार राति अन्दाजी साढे ८ बजे जनकपुरधाम वडा नम्बर ७ स्थित कटैयाचौरी बस्ने सरोज ठाकुरको घरबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश राणाभाटले जानकारी दिए ।
अपहृत बालकलाई परिवारजनको जिम्मा लगाईसकेको र घटनामा संलग्न रहेको आशंकाको आधारमा अन्य दुई जनालाई समेत पक्राउ गरी अनुसन्धान भईरहेको प्रहरी उपरीक्षक रानाभाटले बताए । तर प्रहरीले पत्रकार सम्मेलनमा लक्ष्मेश्वरलाई मात्र सार्वजनिक गरेको छ ।
प्रहरी उपरीक्षक रानाभाटले पैसाको लोभमा परेर मामाले अपहरण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए । उनले भने, ‘अभिभावकले अपहरणको सूचनासँगै फिरौती बापत रकम माग गरेको भन्दै जानकारी दिएपछि खोजतलास गरेका हौँ ।’