
९ फागुन, वीरगञ्ज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले मातृभाषा आमाको दूध र अन्य भाषा डेरीको दूध जस्तो रहेको टिप्पणी गरेका छन् । भोजपुरी प्रतिष्ठान वीरगञ्जले आयोजना गरेको बहुभाषिक कवि सम्मेलन एवं शिलान्यास कार्यक्रममा उनले मातृभाषा जस्तो आनन्द अरु भाषा बोल्दा नआउने गरेको बताए ।
भोजपुरी भाषाको विकासलाई कसैले रोक्न नसकिने बताउँदै उनले जबसम्म भाषा प्रयोगमा आउँदैन, तबसम्म त्यसको विकास नहुने भएकाले भाषालाई अधिकतम प्रयोगमा ल्याउनुपर्ने बताए । ‘केन्द्रिकृत राज्य प्रणालीमा एउटै भाषा, एउटै भेषको नीति थियो,’ उनले भने, ‘गणतन्त्र आएपछि सबै भाषाको विकास हुनुपथ्र्यो तर यस्तो ग्रहण लाग्यो कि भाषाको विकास हुन सकेन ।’ उनले लोकतन्त्र प्राप्तिको लडाइँमा भोजपुरी समाज जहिले पनि अग्र मोर्चामा रहेको उल्लेख गर्दै देशका लागि भोजपुरी भाषी अझै लड्न तयार रहेको बताए ।