
९ फागुन, बुटवल । बुटवलमा दोस्रो केवुलकारको शिलान्यास गरिएको छ । बुटवल उपमहानगरपालिका–१ (पारी बुटवल) बाट पाल्पाको नुवाकोट डाँडोसम्म चल्ने सिद्धार्थ केवुलकारको अर्थमन्त्री विष्णु पौडेलले शिलान्यास गरेका हुन् ।
यसअघि फागुन १ गते बुटवलमै लुम्बिनी केवुलकारको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । सिद्धार्थ केवुलकार प्रालिले सञ्चालन गर्ने केवुलकार १८ महिनाभित्र सञ्चालनमा ल्याउने लक्ष्य रहेको छ ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले रुपन्देही जिल्लाले विकासको रोल मोडलको भूमिका खेल्ने दावी गरे । उनले अब रुपन्देशी जिल्लाले पर्यटनको विकासमा थप फड्को मार्ने बताए । बुटवलबाट नुवाकोट र वसन्तपुर डाँडामा जाने केवलकार सञ्चालनका लागि व्यवसायीहरुले लामो समयदेखि गृहकार्य गर्दै आएका थिए ।
लुम्बिनी केवलकारमा काठमाडौंको चन्द्रागिरी केवलबार सञ्चालन गरेको ग्लोबल आईएमई गु्रप र शर्मा एण्ड कम्पनीको ७५ प्रतिशत र बुटवलका स्थानीयको २५ प्रतिशत केबलकारमा लगानी रहेको छ । आज शिलान्यास गरिएको केवलकार सिद्धार्थ केबलकार प्रालिको नाममा रहेको छ ।
उक्त केबलकार बुटवल मणिमुकुन्द सेन उद्यान (फूलबारी)देखि पाल्पाको नुवाकोटसम्म पुग्नेगरी सञ्चालन गरिनेछ । यी केबलकार निर्माण भएपछि लुम्बिनी आउने पर्यटकहरुलाई आकर्षित गर्न सकिने अपेक्षा गरिएको केवलकार सञ्चालक माधव नेपालले बताए ।