
११ फागुन, काठमाडौं । भारतीय चिकित्सक संघ (आईएमए) ले सोमबार केन्द्रीय स्वास्थ्यमन्त्री डा. हर्ष वर्धनसँग योगगुरु रामदेवको कम्पनीद्वारा तयार गरिएको कोरोनाको तथाकथित औषधी कोरोनिल सार्वजनिक गरेकोमा स्पष्टिकरणको माग गरिएको छ ।
आइएमएले सोमबार एक वक्तव्य जारी गर्दै डा. हर्ष वर्धनसँग थुप्रै प्रश्नको जवाफ मागिएको छ । आइएमएको तर्फबाट जारी बयानमा केन्द्रीय स्वास्थ्य मन्त्रीमाथि मेडिकल काउन्सिल अफ इन्डियाको कोड अफ कन्डक्टको अपहेलना गरेको अभियोग पनि लगाइएको छ ।
यसअघि शुक्रबार मात्र बाबा रामदेवको यो औषधीको सार्वजनिक कार्यक्रममा डा. हर्षवर्धन पुगेका थिए । त्यहाँ रामदेवले आफ्नो कम्पनीले बनाएको औषधी विभिन्न अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित खोजमा आधारित रहेको बताएका थिए ।
कोरोनाको औषधी भनेर कोरोनिल भनिएको औषधीलाई विश्व स्वास्थ्य संगठनले पनि स्वीकृति दिएको रामदेवले दाबी गरेका थिए । तर, स्वास्थ्य संगठनले यसको खण्डन गरेको थियो ।