
११ फागुन, काठमाडौं । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सर्वोच्च अदालतले गरेको फैसला विवादास्पद रहेको बताएका छन् । उनले तर फैसला मान्दै कार्यान्वयन गर्नुको विकल्प नभएको बताएका छन् ।
‘सर्वाेच्च अदालतले गरेको फैसला विवादास्पद छ, तर मान्नुपर्छ । र, कार्यान्वयन गर्नुपर्छ । यसका दुष्प्रभावहरू भविष्यमा देखिदैं जाने निश्चित छ । यसबाट राजनीतिक समस्याहरूको कुनै हल हुने अवस्था पनि छैन । बरू अस्थिरता अझै बढ्ने छ । सत्ताको खेल बढ्नेछ’ थापाले फेसबुक पेजमा लेखेका छन् ।
साथै थापाले प्रतिनिधिसभा विघटनको निर्णय बदर भएपनि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको सामना गरेरै फैसला कार्यन्वयन गर्ने जनाएका छन् । सर्वोच्चको फैसलापछि ओलीले नैतिकताको आधारमा राजीनामा दिन्छन् कि भन्ने अड्कलवाजी भइरहेका बेला उनले सहजै राजीनामा नगर्ने बरु संसदमा अविश्वासको प्रस्ताव फेस गर्ने संकेत पनि गरेका छन् ।
‘प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छ । तत्काल राजीनामा दिनुहुने छैन’ थापाले भनेका छन् ।