१२ फागुन, काठमाडौं । नागरिक अभियन्ता डा. गोविन्द केसीले फागुन १२ गते सुरु गर्ने भनेको २० औं अनशन स्थगित गरेका छन् । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम सच्याएर संविधान रक्षाको माग गर्दै उनले फागुन १२ गतेदेखि अनशन बस्ने घोषणा गरेका थिए । प्रधानमन्त्रीले संविधानमाथि गरेको प्रहारलाई सर्वोच्च अदालतले निस्तेज तुल्याइदिएकाले सत्याग्रह स्थगित गरिएको केसीले बताएका छन् । तर आफूसँग विगतमा भएका सम्झौता कार्यन्वयन नभएसम्म सत्याग्रह अभियान जारी रहने र नयाँ सरकारलाई जवाफदेही बनाउने अभियान निरन्तर रहने केसीले उल्लेख गरेका छन् ।
उनले सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको विषयमा गरेको ऐतिहासिक फैसलापछि देशको प्रतिगमनतिर धकेल्ने प्रधानमन्त्री केपी ओलीको प्रयास तत्कालका लागि असफल भएको बताउँदै देशको सर्वोच्च न्यायालयबाट सबै नागरिकको अपेक्षा यही रहेका बताएका छन् । उनले ओली सरकारले गरेका संवैधानिक निकायका नियुक्तिहरु तत्काल सच्याउन समेत माग गरेका छन् । उनले भनेका छन्ः ‘खास गरी राज्य कब्जाको नग्न प्रयास स्वरुप प्रधानमन्त्री ओलीले जसरी संवैधानिक निकायहरुमा गलत रुपमा नियुक्तिहरु गरेका थिए ती तत्काल सच्चिनुपर्छ ।’
प्रतिनिधिसभा पुनःस्थापना हुँदैमा नेपालको लोकतन्त्रमाथि आइलागेका सबै संकटहरुबाट पार नपाउने बताउँदै उनले अब जुनसुकै प्रधानमन्त्रीको नेतृत्वमा नयाँ सरकार बने पनि कार्यशैली र राज्य सञ्चालनको प्राथमिकता ओली सरकारको जस्तै रहने हो भने त्यसले अवस्थामा खासै परिवर्तन नल्याउने उनले दाबी गरेका छन् । उनले भनेका छन्ः ‘ पछिल्ला तीन वर्षमा सरकारते अभिव्यक्ति स्वतन्त्रता खुम्व्याउन र भ्रष्टाचारलाई संस्थागत गर्न जति पनि कुकर्म गरेको छ, त्यसलाई नउल्टयाएसम्म देश र समाज सही अर्थमा अगाडि बढ्न सक्दैन ।’