
१२ फागुन, काठमाडौं । सर्वोच्च अदालतले संसद् पुनःस्थापनाको फैसला गरेपछि नेकपाको प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसँग भएको भेटमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केही भन्न नसकेको बताएका छन् ।
बुधबार दिउँसो भएको भेटबारे महेन्द्रनारायण निधि प्रतिष्ठानको कार्यक्रममा बोल्दै देउवाले भेटवार्तामा आफूले कुनै बचन दिन नसकेको खुलाएका हुन् । सर्वोच्च आलतबाट संसद् पुनःस्थापित भइसकेपछि दुई अध्यक्षसँग भेटवार्ता गरेका देउवाले भने, “माधव–प्रचण्डसँग आज कुरा भयो तर मैले उहाँहरुलाई केही प्रतिबद्धता जनाउन सकिनँ ।” उनले प्रतिबद्धता जनाउने अवस्था राजनीतिक रुपमा नभएको बताए ।
“नेकपा फुटोस् भन्ने हाम्रो चाहना होइन । एउटा लोकतन्त्रिक पार्टीले अर्को पार्टी फुटोस् भनेर हामी चाहँदैनौ र कसैले पनि त्यस्तो चाहना राख्नु हुँदैन,” देउवाले प्रश्न गरे, “उहाँहरु दुई समुहमा विभाजित हुनुहुन्छ तर, कानुनी रुपमा एउटै पार्टी छ । कसरी उहाँहरुसँग सत्ता साझेदारीका विषयमा सहमति गर्ने ?” उनले निर्वाचन आयोगले अडकाएर राखिदिँदा संसद पुनःस्थापित भएपछि पनि राजनीति प्रष्टसँग अघि बढ्ने अवस्था हुन नसकेको बताए ।
“नेकपाका दुई समुहले आधिकारिकता दाबी गरिरहेका छन् । यसको टुंगो लगाउने जिम्मा निर्वाचन आयोगको हो,” देउवाले प्रश्न गरे, “निर्वाचन आयोगले नभनी केपी ओलीसँग वा प्रचण्ड–नृेपालसँग कसरी सत्ता साझेदारीका विषयमा समझदारी गर्ने ?” उनले नेकपाको विवादको कानुनी टुंगो नलाग्दासम्म कुनै समूहसँग पनि सहमति गर्ने अवस्था नरहेको बताए ।