
१३ फागुन, कैलाली । बैतडीकी १७ वर्षीय किशोरी भागरथी भट्टको हत्यासम्बन्धी घटनाको अनुसन्धानमा खटिएर सफलता प्राप्त गरेको भन्दै दुई प्रहरीलाई बढुवा गरिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले प्रहरी सहायक निरीक्षक पदमबहादुर थापालाई प्रहरी नायव निरीक्षकमा र प्रहरी जवान नरबहादुर थापालाई प्रहरी हवल्दारमा बढुवा गरेको हो ।
प्रहरीमा विशेष अवस्थामा विशेष अनुसन्धानमा खटिएर सफलता प्राप्त गरेका जुनियर अधिकृतको तह बढुवा गरिने गरिन्छ । ‘‘यो विशेष बढुवा हो । उहाँहरुले भागरथी हत्याकाण्डको अनुसन्धानमा अहम् भूमिका खेल्नुभएको थियो । त्यसैले उहाँहरुको नियमित नभई विशेष बढुवा हो,’’ सुदूरपश्चिम प्रदेश कार्यालयका एसएसपी मुकेश सिंहले भने । बढुवा भएका दुवैजनालाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका डीआईजी उत्तमराज सुवेदीले दर्ज्यानी चिह्न प्रदान गरे ।
यस्तै, अनुसन्धानमा खटिएका अन्य पाँच प्रहरी पनि पुरस्कृत भएका छन् । बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानीस्थित सनातन माध्यमिक विद्यालयमा अध्ययनरत् भागरथी गएको माघ २२ गते मृत अवस्थामा फेला परेकी थिइन् । उनको बलात्कारपछि हत्या भएको खुलेको थियो । प्रहरीले हत्यामा संलग्न आरोपमा भागरथीकै आफन्त दिनेश भट्टलाई पक्राउ गरी सार्वजनिक गरिसकेको छ ।