
१३ फागुन, काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेर देशलाई ठूलो दुर्घटनाबाट जोगाएको बताएका छन् । स्वर्गीय महेन्द्र नारायण निधिको ९९औँ जन्मजयन्ती समारोहमा प्रमुख अतिथिका रुपमा बोल्दै पूर्वराष्ट्रपति डा. यादवले अदालतले संविधानअनुसारको निर्णय सुनाएको बताउँदै यो ठूलो नजिर बनेको दाबी गरे ।
अदालतको यस फैसलाबाट लोकतन्त्र र संघीयतामाथि विश्वास गर्ने सम्पूर्ण नेपाली जनताको जित भएको उनले बताए । उनले भने, ‘संविधानमाथि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहार गरेर देशमा ठूलै राजनीतिक वितण्डा मचाएका थिए । तर, सम्मानित सर्वोच्च अदालतले वहाँहरुको यस कदमलाई गलत ठहर गर्दै जनतालाई ठूलो उपलब्धि प्रदान गरेको छ ।’
डा. यादवले राजनीतिक दलहरु विधि विधानअनुरुप चल्न नसकेकाले लोकतन्त्रमाथि पटक–पटक प्रहार हुँदै आइरहेको समेत बताए ।