विश्व/प्रवास

स्वास्थ्य मापदण्ड पालना गर्न बङ्गलादेशका प्रधानमन्त्रीको आह्वान

pm sheikh hasina

१३ फागुन, काठमाडौं । बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न आह्वान गरेकी छिन् । कोरोनाभाइरसको महामारी अन्त्य नभएकाले सतर्कता अपनाउँदै सबै मापदण्ड पालना गर्नु अत्यावश्यक रहेको उनको भनाइ छ ।

कोरोनाभाइरस विरुद्धको खोप लगाएपनि स्वास्थ्य मापदण्ड पालना गर्न भने हेलचक्र्याइँ गर्न नहुनेमा उनले सबैको ध्यानाकर्षण गराएकी छिन् । राजधानी ढाकाबाट बिहीबार एउटा कार्यक्रमलाई भिडियोमार्फत् सम्वोधन गर्दै उनले स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्न दोहो¥याएर आग्रह गरेकी हुन् ।

मास्कको प्रयोग गर्ने, साबुन पानीले हात धुने, हातमा सेनिटाइजर लगाउने, सामाजिक दुरी कायम गर्नेलगायतका आधारभूत मापदण्डको पालना गर्न उनले जोड दिएकी छिन् । स्वास्थ्य मापदण्डहरूको पालना नै कोरोनाभाइरसविरुद्धको लडाइको मुख्य उपाय भएको प्रधानमन्त्री हसिनाको ठहर छ ।

बङ्गलादेशमा बिहीबार एकदिन मात्रै १४० जना नयाँ सङ्क्रमित भेटिएका छन् भने कम्तीमा पाँच जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरुका अनुसार कोरोनाका कारण बङ्गलादेशमा अहिलेसम्म पाँच लाख ४४ हजार ९५४ जना सङ्क्रमित हुँदा आठ हजार ३८४ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरी १५ हजार ५६० जनाको कोरोना परीक्षण गरिएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । त्यसैगरी बङ्गलादेशमा अहिलेसम्म चार लाख ४९ हजार ७५५ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । तीमध्ये ९५७ जना बिहीबार सङ्क्रमणमुक्त भएका हुन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस