
१४ फागुन, काठमाडौं । संसद पुनःस्थापना भएर नयाँ सरकार गठनको कुरा चलिरहेका बेला चीन र भारतका राजदूतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।
स्रोतका अनुसार नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र भारतीय राजदूत विनय मोहन क्वात्राले देउवालाई उनकै निवास (बूढानीलकण्ठ) मा पुगेर भेटेका हुन् । कांग्रेसका एक नेताका अनुसार उनीहरूले बिहीबार बेलुका छुट्टाछुट्टै समयमा भेट गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुष ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् । संसद विघटनविरुद्ध अदालतमा १३ वटा रिट परेका थिए । ती रिटउपर फैसला सुनाउँदै सर्वोच्च अदालतले फागुन ११ गते संसद विघटन गर्ने सरकारको निर्णय बदर गरेको थियो ।
हिजै नेकपा ‘प्रचण्ड–नेपाल समूह’ का अध्यक्षद्धय पुष्पकमल दाहाल र माधव नेपाल पनि देउवा निवास पुगेर देउवासँग भेटवार्ता गरेका थिए ।संसद पुनःस्थापनासँगै नेपालमा भएको पछिल्लो राजनीतिक घटनाक्रमपछि चीन र भारतीय राजदूतहरुको पनि सक्रियता बढेको छ ।