
१५ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूहका नेता सुवास नेम्वाङले संसद पुनःस्थापनापछि सरकार झन् बलियो भएको दाबी गरेका छन् । नेकपा ओली समूहनिकट सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेम्वाङले संसद विघटन हुँदा कामचलाउ भएका प्रधानमन्त्री ओली पुनःस्थापनापछि दह्रो भएको बताए ।
प्रतिनिधि सभा विघटन भएपछि सरकारलाई काम चलाउ भन्नेहरुलाई अहिले सरकार दह्रो हुँदा अप्ठेरो परेको उनको टिप्पणी छ । ‘हिजो पुनःस्थापना नहुँदासम्म निर्वाचन घोषणा गरिराखेको प्रधानमन्त्रीले के के निर्णय गर्ने हो ? निर्णय गर्न पाउँदैन । यो कामचलाउ सरकारको प्रधानमन्त्री भन्ने गर्नुहुन्थ्यो जुन कुरा ठिक थिएन यो ठिक होइन भनिराथ्यौं’, नेम्वाङले भने, ‘अब त त्यो दुःख पनि गर्न नपर्ने भयो। संसद पुनःस्थापित भयो । प्रधानमन्त्री हिजो भन्दा झन दह्रो पो हुनुभयो ।’
प्रतिनिधि सभा पुनःस्थापना हुनुभन्दा अगाडि प्रधानमन्त्री ओलीले जनतामा जाने आफ्नो निर्णय लोकतन्त्र सम्मत भएको बताउने गरेको समेत बताए । तर अहिले पुनःस्थापित भएपछि फेरि संसदमा फर्किएकाले चिन्ता गर्नुपर्ने कुनै कुरा नभएको पनि बताए । प्रतिनिधि सभा पुनःस्थापना भएपछि अविश्वासको प्रस्ताव ल्याउने हल्ला सुनिएको भन्दै नेता नेम्बाङले सरकारले प्रस्तावको सामना गर्ने बताए । अविश्वास प्रस्ताव फेल भएमा सरकार फेरि एक वर्ष चल्न पाउने व्यवस्थाले विपक्षीहरूलाई प्रस्ताव ल्याउन नै डर लागेको पनि नेता नेम्बाङले बताए ।
उनले कानुनी रुपमा नेकपा विभाजन भइनसकेको र अहिले पनि पहिलो अध्यक्ष केपी ओली र दोस्रो अध्यक्ष प्रचण्ड कायम नै रहेको बताए । पार्टी एकीकृत भएपछि निर्वाचन आयोगलाई दिएको कागजमा नै पहिलो अध्यक्ष ओली र दोस्रो अध्यक्ष प्रचण्ड भनेर लेखिएको उनको दाबी छ ।