१६ फागुन, काठमाडौं । शनिबार अमेरिकाका राष्ट्रपति जो बाइडेनले उनको प्रशासनले साउदी अरबको विषयमा सोमबार एउटा घोषणा गर्ने बताएका छन् ।
पत्रकार जमाल खग्गोसी हत्या मामिलामा अमेरिकी गुप्तचर विभागको सनसनीपूर्ण रिपोर्टपछि सबैको नजर बाइडेनको घोषणामाथि अडिएको छ ।
यसको विषयमा बाइडेन प्रशासनले केही तप्कामा आलोचना पनि सामना गर्नुपरेको छ । अमेरिकी पत्रिका ‘वासिङ्टन पोस्ट’ को एउटा सम्पादकीयमा पनि राष्ट्रपतिले साउदी अरबका युवराजको विषयमा कडा व्यवहार अपनाउनुपर्दथ्यो भन्ने धारणा पोखेको छ ।
नयाँ अमेरिकी प्रशासनमा युवराजमाथि खग्गोसीको हत्याको मञ्जुरी दिएको आरोपबीच पनि प्रतिबन्ध लगाइएन ।
राष्ट्रपति बाइडेनलाई युवराज मोहम्मद बिन सलमानलाई सजाय दिनेबारे प्रश्न सोध्दा जवाफमा उनले भने, ‘साउदी अरबमाथि हामीले के गर्दैछौं भनेर सोमबार घोषणा हुनेछ ।’
यसबारे ह्वाइट हाउसले खासै जानकारी दिएको छैन । तर समाचार एजेन्सी रोयटर्सका अनुसार ह्वाइट हाउसका एक अधिकारीका अनुसार कुनै ठूलै कदम उठाउने सम्भावना भने छैन ।