
१७ फागुन, दिल्ली । पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको चिकित्सकहरुले निष्कर्ष निकालेका छन् ।
वायोप्सी, डोटा नोक परीक्षण, इन्डोस्कपी अल्ट्रासाउन्ड, पीइटी सिटी स्क्यानसहित अन्य परीक्षणपछि चिकित्सकहरुले ट्युमरमा क्यान्सर नभएको प्रमाणित गरेकाे उनका स्वकीय सचिव विश्वदीप पाण्डले जानकारी दिए ।
देखिएको ट्युमरलाई भने बेलैमा नै ढिला नगरी दुई/तीन महिनाभित्रै शल्यक्रियाद्वारा फाल्नुपर्ने चिकित्सकले सुझाव दिएकाे उनको भनाइ छ । ‘यदि बेलैमा शल्यक्रिया नभएमा भने क्यान्सरको खतरा पनि हुनसक्ने कुरामा चिकित्सकले आज भएको परामर्शमा सचेत गराउनुभएको छ,’ उनले भने ।
पाण्डेका अनुसार अध्यक्ष भट्टराईको फेब्रुअरी २२ बाट भारतको दिल्लीस्थित यकृत एवम् पित्त विज्ञान संस्थानमा स्वास्थ्य परीक्षण भइरहेको थियो । उहाँले डा. प्रोफेसर विक्रम भाटियासँग परामर्श लिएका थिए ।
अध्यक्ष भट्टराई भोलि फागुन १८ गते मंगलबार नेपाल वायुसेवाको जहाजबाट नेपाल फर्कने छन् ।