
१७ फागुन, काठमाडौं । सहरी विकासमन्त्री प्रभु साहले काठमाडौं र काठमाडौंबाहिरका स्मार्ट सिटीको कामलाई समानान्तर ढंगले अगाडि बढाइरहेको बताएका छन् । सोमबार सहरी विकास मन्त्रालयमा बन्दै गरेका तीन स्मार्ट सिटीको बारेमा जानकारी दिन आयोजित छलफल कार्यक्रममा मन्त्री साहले काठमाडौंमा बन्ने चार स्मार्ट सिटीमध्ये तीनवटा स्मार्ट सिटीको काम अगाडि बढेको भन्दै काठमाडौंबाहिरका स्मार्ट सिटीहरुलाई पनि सँगै लान खोजिएको बताए ।
‘‘काठमाडौंमा चारवटा स्मार्ट सिटी प्रस्तावित गरेका छौँ । जसमा तीनवटा त अगाडि नै बढिसकेको छ । काठमाडौंबाहिरका पनि स्मार्ट सिटीहरुलाई सँगै लान खोजिरहेका छौँ । काठमाडौंभित्रका स्मार्ट सिटी र काठमाडौंबाहिरका स्मार्ट सिटी दुईवटैलाई समानान्तर ढंगले नै अगाडि बढाइरहेका छौँ,’’ उनले भने । काठमाडौंबाहिर पनि १० वटा स्मार्ट सिटीको काम अगाडि बढाइरहेको उनले बताए ।
काठमाडौंको भद्रगोल सहरीकरणलाई योजनाबद्ध, व्यवस्थित सहरीकरणको सचेत प्रयासका रूपमा स्मार्ट सिटी निर्माणकार्य गरिँदै गरेको उनको भनाइ छ । उनले भने, ‘‘काठमाडौंमा आफ्नै ढंगले सहरीकरण भइरहेको छ । त्यो भद्रगोल सहरीकरणलाई एउटा योजनाबद्ध, व्यवस्थित सहरीकरणको सचेत प्रयासका रूपमा यसलाई बुझ्न जरुरी छ ।’’
उनले स्मार्ट सिटी बनाउने काम छिटो गर्नुपर्ने र छिटो बनाउने नाममा कानुनविपरीत गर्न नहुने उल्लेख गरे । स्मार्ट सिटी आम देशबासीको सम्मानसँग जोडिएको महत्वांकाक्षी योजना भएको भन्दै यसलाई सबैको सरोकार जोड्ने गरी अगाडि बढाउने पनि मन्त्री साहले बताए ।