मुख्य समाचार

वर्तमान सरकारले नै निर्वाचन गर्छ : मन्त्री श्रेष्ठ

krishna gopal

१७ फागुन, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले कसैले माग्दैमा प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा नदिने प्रष्ट पारेका छन् । चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित बाहुनडाँडामा गणेशमान सिंह स्मृति बहुप्राविधिक शिक्षालयको आज शिलान्यास गर्दै उन कसैले परबाट राजीनामा दे भन्दा प्रधानमन्त्रीले राजीनामा दिने हो भनी प्रश्न गरे ।

वर्तमान सरकारले नै मुलुकमा निर्वाचन गराउनेमा ढुक्क हुन आग्रह गर्दै उनले संसद्मा प्रधानमन्त्रीका विरुद्ध अविश्वासको प्रस्ताव पेश गर्न पनि चुनौती दिए । प्रधानमन्त्री ओलीले चालेको राजनीतिक कदमको संवैधानिक निरुपण हुँदा मुलुक अप्ठयारो अवस्थामा पुगेको जिकिर गर्दै उनले यद्यपि सरकारले सर्वोच्च अदालतको फैसलालाई स्वीकार गर्दै यही फागुन २३ गते प्रतिनिधिसभाको बैठक बोलाएको बताए ।

“नसोचेको घटनामा मुलुक फसेको छ, यसबाट मुलुकले निकास पाउनुपर्छ, देश, जनता, लोकतन्त्र र संविधानले जित्नुपर्छ”, उनले भने । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले यही फागुन ११ गते १३ दिनभित्र संसद् बैठक बोलाउन सरकारका नाममा परमादेश दिएको थियो । मन्त्रिपरिषद् बैठकले यही फागुन २३ गते अपराह्न ४ बजे प्रतिनिधिसभा बैठक बोलाउन राष्टपतिसमक्ष सिफारिश गरेको छ । “सरकार गठन भएदेखि नै जनताको पक्षमा काम हुँदै आएको छ, तर आफ्नै पार्टीबाट असहयोग भएको छ”, मन्त्री श्रेष्ठले भने ।

मुलुक पुनःनिर्माण र नवनिर्माणको चरणमा तीव्र गतिमा अगाडि बढेको उल्लेख गर्दै उनले यही सरकारले नै रानीपोखरीलगायत संरचनाको निर्माण सम्पन्न गरेको र धरहरा तथा काष्ठमण्डपको छिट्टै निर्माण सम्पन्न गरिने बताए । मन्त्री श्रेष्ठले भने, “आगामी वैशाख १२ गते मध्याह्न १२ बजे काष्ठमण्डपको उद्घाटन गरिन्छ । प्रत्येक पालिकामा एक प्राविधिक शिक्षालय स्थापना गर्ने सरकारको उद्देश्य रहेको बताउँदै उनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी)ले त्यसको तयारी गरिरहेको र छिट्टै घोषणा गरिने जानकारी दिए ।

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरिले आर्थिक, सामाजिक, धार्मिक तथा साँस्कृतिक दृष्टिले नगरपालिकालाई समृद्ध बनाउन लागि परेको बताए । चन्द्रागिरि नगरपालिकालाई शैक्षिक हवका रुपमा विकास गरिने प्रतिबद्धता पनि उनले बताए । सिटिइभिटीका सदस्यसचिव डा पुष्परमण वाग्लेले प्राविधिक शिक्षामा सबैको पुहँच पुर्याउने उद्देश्यसहित देशभर प्राविधिक शिक्षालय विस्तार गर्न लागिएको बताए ।

शिक्षालयका लािग जग्गा प्राप्ति भएलगत्तै निर्माण थालनी गरिने सिटिइभिटीले जनाएको छ । शिक्षालयको विस्तृत परियोजना निर्माण (डिपिआर)को निर्माणको काम भइरहेको छ । प्राविधिक शिक्षालयको सम्पूर्ण लागत डिपिआरले तय गर्नेछ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस