१८ फागुन, विराटनगर । मोरङको कटहरी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी ज्येष्ठ नागरिकका लागि छुट्याइएको बजेट दुरुपयोग गर्दै आइतबार भ्रमणमा निस्किएका छन् । गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले भ्रमण टोलीको नेतृत्व गरेका छन् ।
गाउँपालिकाले प्रकाशन गरेको योजना पुस्तिकाको पृष्ठ नम्बर १५४ मा सामाजिक विकास कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिक अवलोकन भ्रमण शीर्षकमा ६ लाख रुपैयाँ विनियोजन गरिएको छ । सोही शीर्षकको बजेटबाट कर्मचारी र जनप्रतिनिधि प्रदेश २ र बागमती प्रदेशका स्थानीय तहको पाँचदिने घुमफिरमा निस्किएका हुन् । उक्त टोलीमा गाउँपालिका अध्यक्ष रामकुमार कामत, प्रमुख प्रशासकीय अधिकृत रामसुन्दर थापा, वडाध्यक्षहरू कपुरलाल माझी, जग्गुलाल कामतसहित लेखा शाखाका कर्मचारी, प्राविधिक सहभागी छन् ।
गाउँपालिका उपाध्यक्ष मन्जिताकुमारी सरदारले यो भ्रमणको विरोध आफूले गरेको बताइन् । ‘गर्नु नहुने काम गरिरहेका छन्’, उपाध्यक्ष सरदारले भनिन्, ‘पहिले मैले सचेत गराउँदा मानेनन् ।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा रविन भट्टराईले लेखेका छन् ।