
१८ फागुन, काठमाडौं । सुरक्षित मानिएको कोभिसिल्ड खोप लगाएपछि शरीरमा एन्टिबडी नबन्दासम्म कोराना संक्रमणको जोखिम रहने विज्ञहरूले बताएका छन् । पहिलो डोज लगाएको २२ दिनपछि मात्र एन्टिबडी बन्ने भएकाले सुरक्षा मापदण्ड अपनाउन उनीहरूको सुझाव छ ।
कोभिड १९ खोपविज्ञ सल्लाहकार समितिका संयोजक एवं वरिष्ठ खोपविज्ञ डा. श्यामराज उप्रेतीले कोभिसिल्ड खोप ७१ प्रतिशत मात्र प्रभावकारी भएको जानकारी दिए । उनले भने, ‘सय जनाले खोप लगाएमध्ये झण्डै ३० प्रतिशतलाई कोरोना संक्रमण हुने सम्भावना हुन्छ । खोप लगाए पनि सुरक्षा मापदण्ड पालना गर्नुपर्छ ।’
कोभिसिल्ड खोपको पहिलो डोज लगाएको २२ दिनपछि मात्र एन्टिबडी बन्ने डा. उप्रेतीले बताए । ‘पहिलो मात्रा लगाएको खोपले १२ सातासम्म काम गर्छ’, उनले भने, ‘दोस्रो डोज लगाएको दुई डोज (मात्रा) दिइसकेपछि ८ हप्तादेखि १२ हप्तासम्म मात्र प्रभावकारिता रहन्छ ।’
भारतले अनुदानमा उपलब्ध गराएको कोभिसिल्ड खोप हालसम्म ४ लाखभन्दा बढीले लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो खोप कम्तीमा ८ हप्ताको फरकमा दुई मात्रा लगाउनुपर्ने विज्ञहरूको सुझाव छ । पहिलो मात्रा कोभिसिल्ड खोप लगाएपछि दोस्रो मात्रा पनि कोभिसिल्ड खोप नै लगाउनुपर्ने उप्रेतीले बताए। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।