१९ फागुन, काठमाडौं । मेरिङ्देन गाउँपालिका–३ स्थित दोभान बजारमा मंगलबार आगलागी हुँदा ४९ घर जलेका छन् । ५५ परिवार विस्थापित भएका छन् । भौतिक क्षति यकिन भइसकेको छैन । बजारको मुख्य भागको ६५ प्रतिशत घर जलेको गाउँपालिका अध्यक्ष गणेशबहादुर लिम्बूले बताए ।
ताप्लेजुङमा यही वर्ष आगलागीका तीन ठूला घटना भएका छन् । माघ २० गते सिरिजंघा–१ सिनाममा पाँच घर जले । पुस दोस्रो साता पाथीभरा मन्दिर क्षेत्रमा लागेको आगो महिना दिनपछि मात्रै नियन्त्रणमा आएको थियो । जसमा १ सय ५० हेक्टर वन नष्ट भएको थियो । मन्दिरसमेत जोखिममा पारेको थियो । फुङलिङ बजारको पुरानो बैंक लाइनमा वैशाख १९ गते राति १२ घर जले ।
२८ परिवार विस्थापित भए । त्यहाँका विस्थापित अझै तंग्रिन सकेका छैनन् । ‘एकपछि अर्को गरेर निरन्तर आगलागी हुन थाल्यो’, फुङलिङका मेयर छत्रपति प्याकुरेलले भने, ‘यसले हामी उच्च जोखिममा परिरहेका छौं । यस विषयमा गम्भीर बहस आवश्यक छ ।’
यसअघि वीरेन्द्र चोक, तोक्मे क्षेत्र, शेर्पा टोल र टुक्रेमा आगलागीका ठूला घटना भएका थिए। वीरेन्द्र चोकमा २०६० चैत १५ गते भएको आगलागीमा ४५ घर जल्दा ५१ करोड हाराहारीमा क्षति भएको थियो । त्यसैगरी २०७१ चैत ९ गते तोक्मे बजारमा भएको आगलागीमा ४४ घर जल्दा ३० करोड रुपैयाँ मूल्यबराबरको क्षति भएको प्रहरीको तथ्यांक छ ।
त्यसअघि २०६९ माघमा शेर्पा टोलमा आठ घर जलेका थिए । जसमा २ करोड ५० लाख र २०७० साल कात्तिकमा टुक्रे बजारमा पाँच घर जल्दा १ करोड ५० लाखको क्षति भएको थियो । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।