मुख्य समाचार

सचिवालय सदस्यबाहेकका सांसद छलफल गरी साझा सुझाव तयार पारौँ : जनार्दन शर्मा

Janardan Sharma

१९ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका नेता जनार्दन शर्माले पार्टीका सचिवालय सदस्यबाहेका सांसदहरूको छुट्टै छलफल आवश्यक भएको बताएका छन् । नेकपा राजनीतिक रुपमा केपी शर्मा ओली र प्रचण्ड–माधव पक्षमा विभाजित भएपछि शीर्ष नेताहरुले अभिव्यक्ति दिइरहेको भन्दै पूर्व मन्त्री समेत रहेका शर्माले बुधबार आफ्नो धारणा अघि सारेका हुन् ।

‘जनमतको सम्मान र आफ्नो जनप्रतिनिधिको कर्तव्य समेत कसरी पूरा गर्ने भन्नेबारे स्वतन्त्र ढंगले छलफल गर्न आवश्यक भएको सन्दर्भमा सचिवालय सदस्यहरु बाहेकका सांसदहरूले एउटा छलफल गरी आवश्यक निष्कर्षका लागि पहल गर्ने कुराको महसुस गरी पार्टी आन्दोलन र जनताको पक्षमा के गर्दा हुन्छ भन्नेबारे स्वतन्त्र रुपले छलफल गर्न माननीयहरूमा हार्दिक अपिल गर्दछु’ बुधबार शर्माले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन् ।

नेता शर्माले यो छलफल साझा कुनै हस्ताक्षर संकलन गर्न नभई साझा सुझाव तयार गर्न भएको समेत स्पष्ट पारेका छन् । ‘यो छलफल कुनै हस्ताक्षर र यो वा त्यो नेतृत्वको पक्षमा नभएर हाम्रो साझा सुझाव तयार गर्न अर्थमा भएको समेत जानकारी गराउँछु । कुनै त्रास र कुनै प्रलोभनमा नपरी छलफल गरिने छ,’ उनले भने ।

नेकपामा उत्पन्न विवादलाई सैद्धान्तिक कुरा, नेतृत्वको प्रश्न एंवम पदीय झगडाका रुपमा आ-आफ्ना बुझाइ रहेको पनि शर्माले बताएका छन् । नेकपामा देखिएको समस्याको कारण जे भए पनि जननिर्वाचित प्रतिनिधिसभा भंग हुने अवस्थासम्म पुग्नु सबैका लागि दूर्भाग्यपूर्ण अवस्था भएको उनले बताएका छन् । ‘जनताको आन्दोलन र अदालतको स्वतन्त्र र सुझबुझपूर्ण निर्णयबाट संसद्को पुन:स्थापना भएको सन्दर्भमा हामी प्रतिनिधिसभाका संसदहरुले आफैप्रति उठेका प्रश्नहरुको जवाफ दिन आवश्यक भएको छ,’ शर्माले लेखेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस