
१९ फागुन, काठमाडौं । सरकार र नेकपा विप्लव समूहबीचको पहिलो चरणको वार्ता सकिएको छ ।
बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा करिब डेढ घण्टा दुई पक्षबीच वार्ता भएको हो । वार्ता सकारात्मक दिशाउन्मुख रहेको सरकारी वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिए ।
वार्ता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको हो । “नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गर्नुभएको नेकपाका वार्ता टोलीबीच पहिलो चरणको वार्ता आज बिहान सम्पन्न भएको छ । वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी गराउँदछु,” उनले फेसबुकमा लेखेका छन् ।
सरकारी वार्ता टोलीमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र भट्टराई छन् भने विप्लव समूहबाट खड्गबहादुर विश्वकर्मा र उदय चलाउने रहेका छन् । दुवै पक्षबाट मंगलबार वार्ता टोली गठन गरिएको थियो । त्यसको भोलिपल्ट पहिलो चरणको वार्ता भएको छ ।