गण्डकी प्रदेश

पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपतिको सपथ ग्रहण

padamraj dhakal

१९ फागुन, पोखरा । पोखरा महानगरपालिकाले स्थापना गरेको पोखरा प्रज्ञा प्रतिष्ठानका नव नियुक्त कुलपतिसहित सदस्यहरूले आज शपथ ग्रहण गरेका छन् । पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले प्रतिष्ठानका कुलपति पदमराज ढकाललाई शपथ गराएका थिए । कुलपति ढकालले सदस्यहरूलाई शपथ गराएका थिए ।

प्राज्ञ सदस्यमा लोकदोहोरी गायक जीवन दाहाल, जनवादी गायक कृष्ण भण्डारी, साहित्यकार प्रकाश ज्ञवाली, कलाकार मिलन शेरचन,  कवियत्री सरस्वती श्रेष्ठ र संगीतकार दिलीप गायक छन् । प्रज्ञा प्रतिष्ठानमा उपकुलपति र दुई सदस्य रिक्त छन् । ती पदमा पछि  नियुक्त गरिने महानगरले जनाएको छ । ११ सदस्यीय सांगठनिक ढाँचाको महानगर प्रज्ञा प्रतिष्ठानमा २ जना कार्यपालिका बोर्ड सदस्य समेत रहनेछन् ।

महानगरकै प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहने महानगर प्रज्ञा प्रतिष्ठान ऐनले व्यवस्था गरेको छ । सपथ ग्रहण कार्यक्रममा बोल्दै महानगर प्रमुख जिसीले पोखरा महानगर भित्रका भाषा, साहित्य, संस्कृति, कला, नाटक तथा संगीतको संरक्षण र सम्वर्द्धन गर्न प्रतिष्ठान स्थापना गरिएको बताए । उनले पोखराको कला, साहित्य, संस्कृति लगायत सम्पूर्ण विधिको संरक्षणमा प्रतिष्ठानले सरोकारवालासँग छलफल गरेर गुरुयोजना निर्माण गर्न आग्रह गरे ।

नेपालका ७ सय ५३ स्थानीय तह मध्य प्रतिष्ठान गठन गर्ने पहिलो बनेको भन्दै प्रमुख जिसीले सुरुवाती चरणमा केही कमजोरी हुन सक्ने भन्दै त्यसलाई सच्याउँदै जाने बताए । उनले नव नियुक्त कुलपतिसहित सदस्यहरुलाई पोखरा प्रज्ञा प्रतिष्ठानलाई उदाहरणीय बनाउन आग्रह गरे ।

पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले पोखरा कला, संगीत, साहित्य र संस्कृतिको उर्वर भूमि भएको बताउँदै सबैलाई एकीकृत गरेर महानगरको पुँजी बनाउन प्रतिष्ठानले भूमिका खेल्नुपर्ने बताइन् । पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा पोखरा प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव महेश बरालले विशेष गरी गण्डकी प्रदेशका साहित्य, कला, संस्कृति र संगीतलाई मूल प्रवाहमा ल्याउनलाई प्रतिष्ठानले काम गर्नुपर्ने बताए ।

नव नियुक्त कुलपति पदमराज ढकालले प्रतिष्ठानको उद्देश्य अनुरुप अगाडि बढाउने बताए । उनले पोखरामा सिर्जना ग्राम र सांस्कृतिक ग्राम आवश्यक भएकाले ग्राम स्थापना गर्न प्रतिष्ठानले पहल गर्ने बताए । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पोखरा प्रज्ञा प्रतिष्ठान गठन पोखरा महानगरपालिकाको ऐतिहासिक कदम भएको बताए । उनले पोखराको कला, साहित्य, संगीत र संस्कृति संरक्षणमा  प्रज्ञा प्रतिष्ठान कोशेढुंगा सावित हुने बताए ।

पोखरा महानगरपालिका प्रमुख जिसीको अध्यक्षतामा भएको कार्यक्रममा प्राज्ञ सिफारिस समितिका संयोजक तथा वडा नम्बर ७ का अध्यक्ष रामचन्द्र बराल, सदस्य मनकुमार श्रेष्ठले पोखरा प्रज्ञा प्रतिष्ठानको बारेमा बोलेका थिए । सिफारिस समितिमा वडा नम्बर ७ का अध्यक्ष बराल संयोजक, पोखरा महानगरका सूचना अधिकारी भरतराज पौडेल र विज्ञका रुपमा मनकुमार श्रेष्ठ सदस्य थिए ।

पोखरा महानगरपालिकाको प्रज्ञा प्रतिष्ठान ऐन २०७६ को दफा ८ बमोजिम गठित सिफारिस समितिले गत असोजमा गरेको सिफारिसका आधारमा ढकाल कुलपति अन्य ६ जना सदस्यमा नियुक्त भएका हुन् । समितिले ११ जनाको नाम सिफारिस गरेको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस