
२० फागुन, काठमाडौं । सुनचाँदी व्यवसायीले कच्चा सुनको आपूर्ति बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई भेटी सुनको आपूर्ति बढाउन ध्यानाकर्षण गराएको हो । महासंघले कच्चा सुनको अभाव भएको दाबी गरेको छ । भेटमा मन्त्री भट्टले आपूर्ति बढाउन पहल गर्ने प्रतिबद्धता जनाए ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा बिहिबार गएको सुनचाँदी ब्यवसायी महासंघको प्रतिनिधि मण्डलसँग मन्त्री भट्टले बजारमा देखिएको सुनको अभावबारे आफू पनि जानकार रहेको बताए । बजारको आवश्यक अनुसार कच्चा सुन आपूर्ति नभए त्यसले कालोबजारीलाई समेत प्रोत्साहन गर्न सक्ने तर्फ सचेत रहनुपर्ने आवश्यकता उनले औंल्याए ।
त्यसक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले बजारमा कच्चा सुनको चरम अभाव भएको उल्लेख गर्दै तत्काल समस्या समाधान गर्न मन्त्री भट्टसँग आग्रह गरे । उनले सरकारले कोभिडका कारण भएको लकडाउनका क्रममा घटाएको कोटा अझै वृद्धि नगरेकोले अहिलेको समस्या आएको उल्लेख गरे । अहिले बजारमा दैनिक २५ देखि ३० किलोसम्म सुनको माग रहेकोले तत्कालका लागि सोही परिमाणमा सुन उपलब्ध गराउनुपर्ने आवश्यकता रहेको उनले भने ।