२१ फागुन, मकवानपुर । प्रहरीले चोरीको मोटरसाईकलसहित एकजनालाई हेटौंडाबाट पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका–८, कमानेबाट चोरी गरिएको ना. ४ प ९२१० नम्बर सुपर स्पेलेण्डर मोटरसाईकलसहित एकजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा हेटौंडा–८ कमाने बस्ने वर्ष २९ का बिकु देउला छन् । उनले फागुन १९ गते हेटौडा–४ कर्रा श्रमिक पथका पिथुलाल देउलाको मोटरसाईकल चोरी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
आफ्नै घर अगाडि पार्किङ गरी राखेको मोटरसाईकल हराएको भन्ने उजुरीका आधारमा खोजतलास गर्ने क्रममा देउलालाई मोटरसाईकल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अमर गजमेरले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस