विश्व/प्रवास

टोकियोमा सङ्कटकालको अवधि पुन: थप, रेस्टुरेन्ट खाेल्न पाइने

japan airport

२१ फागुन, काठमाडौं । जापानको राजधानी टोकियो क्षेत्रमा सङ्कटकालको अवधि फेरि थप गरिएको छ । प्रधानमन्त्री योशिहिडे सुगाले टोकियो महानगर क्षेत्रमा सङ्कटकालको अवधि फेरि थप गरिएको शुक्रबार घोषणा गरेका हुन् । कोरोनाभाइरसको महामारी नियन्त्रणमा आइनसकेकाले सङ्कटकालको अवधि थप्नु परेको उनको भनाइ छ । सङ्कटकाल आगामी मार्च २१ तारिखसम्मका लागि थप गरिएको प्रधानमन्त्री सुगाले जानकारी दिए ।

राजधानी टोकियोसँगै आसपासका कनगवा, चिबा र सैताममा पनि सङ्कटकाल लम्बिने उनले बताए । कोरोना महामारी व्यवस्थापनका लागि सरकारले गठन गरेको ‘टास्क फोर्स’सँगको परामर्शका आधारमा उनले सङ्कटकाल लम्ब्याउने निर्णय गरेका हुन् । प्रधानमन्त्री सुगाले सङ्कटकालको म्याद अहिले दोस्रो पटक थपेका हुन् । उनले गत जनवरीमा सङ्कटकालको घोषणा गरेका हुन् ।

उनले कारोना भाइरसबाट सङ्क्रमित भएकाहरुको दैनिक सङ्ख्यामा कमी नआएकाले उच्च सतर्कता अपनाउन हेलचक्र्याइँ नगर्न पनि सवैलाई आह्वान गरेका छन् । स्वास्थ्य विज्ञ तथा स्थानीय सरकारी अधिकारीहरुले पनि महामारी अझ बढी फैलिने खतरा रहेकाले सङ्कटकाल लम्ब्याउनुपर्नेमा जोड दिँदै आएका थिए ।

सङ्कटकाल लागू गरिएपनि केही कुराहरूमा भने लचकता अपनाइएको अधिकारीहरुले जनाएका छन् । बार तथा रेस्टुरेन्टहरु केही समय खोल्न पाइने, तर आधारभूत सतर्कता भने अपनाउने पर्ने सर्त राखिएको छ । भेला हुने तथा भिडभाड हुने गतिविधि गर्न भने पूर्ण रूपमा प्रतिवन्ध लगाइएको छ । जापानको राजधानी टोकियोमा मात्रै शुक्रबार पनि थप ३०१ जना सङ्क्रमित भएका छन् ।

योसँगै टोकियोमा मात्रै कुल सङ्क्रमितको सङ्ख्या एक लाख १२ हजार ९२५ पुगेको अधिकारीहरूले जनाएका छन् । पछिल्लो २४ घण्टामा देशभरी एक हजार १४८ जना नयाँ सङ्क्रमित थपिएका छन् भने कुल सङ्क्रमितको सङ्ख्या चार लाख ३७ हजार ८६१ पुगेको छ । कोरोनाभाइरसका कारण जापानमा अहिलेसम्म आठ हजार २११ जनाको मृत्यु भएको छ ।

ती मध्ये ५५ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस